फैसला कार्यान्वयमा कास्की प्रहरी अग्रसर, ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

पोखरा,३० साउन । कास्की प्रहरीले अदालतको फैसला कार्यान्वयनमा अग्रसरता देखाएको छ । केही महिनायता प्रहरीले अदालतबाट फैसला बमोजिम सजाय पाउनुपर्नेहरु फरार रहदै आएकामा उनीहरुको खोजीलाई तीव्र बनाएको छ ।

यसैक्रममा बिहीबार कास्की प्रहरीले ज्यान मार्ने उद्योग मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ।फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने कृष्ण बहादुर नेपालीको छोरा २५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

गोरखा जिल्ला अदालतको विसं २०७२ मङ्सिर १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा पाँच वर्ष कैद हुने ठहरेकोमा सो फैसला उपर उच्च अदालत पोखरामा पुनराबेदन गरी उच्च अदालत पोखराको विसं २०७३ पुस ३ गतेको फैसलाले समेत सोही सजाय सदर गरेको थियो ।

प्रतिवादीले एक महिना ११ दिन प्रहरी तथा न्यायीक हिरासतमा रही बाँकी चार वर्ष १० महिना १९ दिन कैद बाँकी रहेकोमा पोखरा–९ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी कैद भुक्तानको लागि अदालतले कारागार कार्यालयमा पठाएको प्रनाउ हमालले जानकारी दिए ।

Comments
Loading...