सिन्धुपाल्चोक पहिरो अपडेट :पुरिएका पाँचको शव फेला, ३८ जना बेपत्ता

काठमाडौँ,३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको पहिरोमा परी पुरिएका पाँच जनाको शव फेला परेको छ । घटनामा परी ३८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ । रुप बहादुर दोङ, जुनुमाया दोङ, केवलीङ दोङ र पासाङ दोङको चौतारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटनामा परेकाहरुको उद्धार तथा खोजीका लागि सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टर लिएको घटनास्थल पुगेका थिए ।

सभामुखको पहलमा पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाण्डौ ल्याइएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

लिदिमा राहत सामाग्री पनि पुर्याउने काम भइरहेको बताइन्छ । लिदिमा आज विहान गएको पहिरोले ३७ घर पुरिदा पाँच जनाको मृत्यु भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले पूरिएकाहरुको खोजीकार्य जारी राखेका छन् ।

Comments
Loading...