असहज अवस्थामा एन्फा कास्कीले सम्झियो खेलाडी

पोखरा,३० साउन । कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित बन्यो । सरकारले कोरोना रोकथामका लागि लगाएको चार महिना लामो बन्दाबन्दी साउन पहिलो साता अन्त्य गरेपनि खेल क्षेत्र भने बन्दाबन्दीकै अवस्थामा छ ।

आगामी भदौ १५ सम्म खेलकूद गतिविधि बन्द हुनेछ । महामारी बढ्दै गएकाले तोकिएको समयमा समेत खेलकूद शुरु हुनेमा शंका छ ।
खेलकूद गतिविधि बन्दभपछि खेलाडी समेत बेरोजगार भएर हातमुख जोर्न धौ धौ अवस्थामा पुगेका छन् ।

यसरी कोरोनाका कारण प्रभावित खेलाडीहरुलाई आज कास्की जिल्ला फुटबल सङ्घले सम्झिएको छ । एन्फाले थोरै भएपनि आर्थिक सहयोग राहत दिएर खेलाडीको पीडामा मलमपट्टी लगाएको छ । एन्फा कास्कीले रु एक हजार ५०० का दरले राहत दियो भने लायन्स क्लब अफ पोखरा सेन्टिनियलले समेत खेलाडीहरुलाई जनही रु एक हजारका दरले राहत वितरण गरेपछि थोरै भएपनि सहयोग पुगेको खेलाडीको प्रतिक्रिया छ ।

महिला फुटबल खेलाडी सङ्गिता गुरुङले लकडाउनका बेलामा आफूहरुले साँझ विहान घरमै अभ्यास गर्ने गरेको बताउँदै लामो समयसम्म रङ्गशालामा अभ्यास गर्न नपाउँदा दुःख लागेको बताउँदै मैदानमा फर्किने दिनको प्रतिक्षामा रहेको बताइन् । उनले एन्फाले दिएको राहतबाट सहज केही सहज हुने उल्लेख गरिन् ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आर्थिक सहयोगमा एन्फा कास्कीमा आवद्ध २२ क्लबका खेलाडी,प्रशिक्षक तथा अफिसियललाई सो सहयोग प्रदान गरिएको एन्फाका अध्यक्ष मीलन गुरुङले बताए । एन्फा केन्द्रको कार्ययोजना अनुसार राहतका लागि संघले क्लबहरुलाई पत्राचार गरेको र सम्वन्धित क्लबको पत्रानुसार राहत पाउने खेलाडी छनोट गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

कार्यक्रममा खेलकूद पत्रकार मञ्चका अध्यक्ष गिरीले रङ्गशालामा ताला लगाउने अवस्था लामो समय रहँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै खेल सङ्घहरु खेलाडीको दुःख,सुःखको साथी बन्न सक्नुपर्नेमा जोड दिए ।

मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्र्पोट्स अवार्ड गत वर्ष कोरोनाका कारणले आयोजना गर्न नसकिएको बताउँदै खेलाडीहरुलाई प्रोत्साहनका लागि मञ्चले सहयोग गर्ने बताउँदै उनले एन्फाको सहयोगले खेलाडीलाई थोरै समयका लागि भएपनि मद्धत पुग्ने उल्लेख गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी, लायन्स क्लबका अध्यक्ष प्रगत कायस्थ,सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले राहत रकमले खेलाडीलाई प्रोत्साहित गर्ने बताएका थिए ।

Comments
Loading...