युद्धविरामको चर्चित दोरम्वा हत्याकाण्डको आज १८ औँ स्मृति दिवस

पोखरा,३२ साउन ।  विसं २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालिन सरकार र माओवादीबीच दोस्रो चरणको वार्ता चलिएरहेको अवस्थामा रामेछापको दोरम्वामा राज्यपक्षबाट भएको हत्याकाण्डको आज १८ औँ स्मृति दिवस रहेको छ ।

दोरम्बामा बैठक बसिरहेको घरबाट तत्कालीन नेकपा माओवादीका २१ जना नेता तथा कार्यकर्ताहरुलाई कब्जामा लिएर सामुहिक हत्या गरिएको हत्याकाण्डलाई दोरम्वा हत्याकाण्डको रुपमा लिइन्छ ।

दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ ( छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, शिक्षक युवराज मोक्तान र ललिा मोक्तानको कब्जामा लिएपछि सामूहिक हत्या गरेको थियो ।

शान्तिवार्ता चलिरहेको समयमा शाही सेनाले अचानक र अनाहकमा रामेछाप दोरम्बामा एरियास्तरको बैठक बस्ने तयारी गर्दै गरेका नेकपाका क्षेत्रीय, जिल्ला र एरियास्तरका नेता–कार्यकर्तालाई घेराउ गरी कसैलाई बैठक स्थलमै गोली हानेर र अधिकांशलाई हात बाँधेर करिब डेढ घन्टाको बाटो माथि डाँडाकटेरी पुर्याई लाम लगाएर पालैपालो कन्चटमा गोली हानी बर्बर हत्या गरेको गरेको थियो ।

दोरम्बा हत्याकाण्डपछि सरकार र तत्कालिन नेकपा माओवादीबीच चलिरहेको शान्तिवार्ता र युद्धविराम समेत भङ्ग भएर देश पुनःयुद्धमा फर्किएको थियो।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित बनेको सो हत्याकाण्डको १८वर्ष पूरा भएपनि दोषीहरुलाई कारवाही हुन सकेको छैन । विभिन्न मानव अधिकारवादी संघ संस्थाले प्रतिवेदन पेश गरी दोषीहरुलाई कारवाहीका लागि सरकारलाई सिफारिस गरेपनि कार्यान्वयन हुन सकेको छैन।

Comments
Loading...