अब पोखरा महानगरको आफ्नै बहुप्राविधिक शिक्षालय

–कृष्ण दवाडी
पोखरा,१६ भदौ । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ । सो शिक्षालयमा यसैवर्षबाट ‘डिप्लोमा इन अटोमोवाइल इन्जिीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इन्जिीनियरिङ’को तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ ।

अटोमोवाइल इन्जिीनियरिङ सम्वन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिीनियरिङको अध्यापन गर्ने भएको हो ।
महानगरले प्राविधिक शिक्षा तथा तालीम परिषद्(सिटिइभिटी)बाट सम्वन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुनेछन् ।

पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोवाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभएपनि छिमेकी मुलुकबाट आयात हुन्छ ।गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकाँस जनशक्ति समेत विदेशीनै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ ।

सिभिल इन्जिीनियरिङ अधिकाँस प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भएपनि अटोमोवाइल पढाई हुने कलेज तथा क्याम्पसहरु नगन्य छन् । इन्जिीनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोवाइल विषय अध्यापन गरिएपनि पनि हाल सोको पठनपाठन हुँदैन ।

सिटिइभीटिले विद्यार्थी भर्नाका लागि आवेदन खुलाउने र उत्तीर्ण विद्यार्थीहरुलाई शिक्षालयमा अध्यापन गरिने महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । उनका अनुसार दुवै विषयमा ४८÷४८ सिट सङ्ख्या निर्धारण गरिएको र एसइई उत्तीर्ण विद्यार्थीले आवेदन गर्न सक्नेछन् । आगागी दशैँपछि कक्षा शुरु गर्ने तयारी गरिएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले सबैभन्दा बढी रोजगारी प्राप्तिको क्षेत्रमा सँधै परर्निभर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न अटोमोवाइल क्षेत्रको जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको बताए । आगामी दिनमा पर्यटन, वन, कृषि, लगायत बजारको मागका आधारमा अन्य विषयका कक्षाहरु समेत थप गर्दै योजना अनुसार बहुप्राविधिक शिक्षालय स्थापना गरिएको उनको भनाई छ ।

प्रमुख जिसीले भने,“सँधै परनिर्भर भएर पैसा बाहिर पठाएर यहाँका मान्छे बेरोजगार बस्नुको अर्थ छैन, अटोमोवाइलवालाहरुलाई समेत आफूलाई चाहिने जनशक्ति लगानी गरेर पढाउ भन्ने हो,रोजगारको सुनिश्चिता गरेपछि मान्छे पढ्न आउलान् भन्ने छ।”

यस वर्ष पहिलोपटक दई विषयमा प्राविधिक विषय अध्यापन गरिएपनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षाहरु समेत थप गर्र्दै शिक्षालयलाई प्राविधिक शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको प्रमुख जिसीले बताए ।
विद्यार्थी कोटा निर्धारण,छात्रवृत्ति तथा भर्ना शुल्क तय गरिसकिएको जनाइएको छ । खुलामा देशभरिका विद्यार्थीले न्यून शुल्कमा पढ्न पाउँछन् भने महानगरवासीलाई केही कोटा निर्धारण गरिएको र सोही अनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्ने योजना रहेको बताइन्छ ।

सिभिल इन्जिीनियरिङका लागि तीन वर्षको रु एक लाख ९५ हजार शुल्क छ भने अटोमोवाइलको रु एक लाख ७५ हजार तोकिएको छ । आफ्नै पूर्वाधार नवन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । प्राक्टिकलको लागि पश्चिमाञ्चल क्याम्पससँग सम्झौता गरिएको भएको आचार्यले जानकारी दिए ।

“पूर्वाधार तयार नहुँदासम्म हामीले जनप्रकाश माविमा पढनपाठन गर्दछौँ, राम्रो ल्याव भएकाले प्राक्टिकल पश्चिमाञ्चल क्याम्पसमा हुन्छ ।”आचार्यले भने । प्राविधिक शिक्षालय सञ्चालका लागि महानगर प्रमुख जिसीको संयोजकत्वमा छ सदस्सीय सञ्चालक समिति बनेको छ ।

त्यसैगरी शिक्षालय निर्देशकका लागि विज्ञापन गरिएको छ । महानगरको शहरी योजना आयोगका आर्किटेक्ट बाबुराम भण्डारीको संयोजकत्वमा रहेको निर्देशक सिफारिस समितिले केही दिनमा निर्देशक पदपूर्तिका लागि महानगरमा सिफारिस गर्नेछ ।

Comments
Loading...