विकास समितिले क्रसर उद्योगको मापदण्ड पालनामा कडाई गर्ने

पोखरा,२० भदौ । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योगहरु सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै मापदण्ड पालनाका लागि सरोकारभएकाहरुलाई जिम्मेवार बनाउने भएको छ ।

समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनका बारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखहरुसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताए ।

“प्रदेश भरिनै अहिले क्रसर उद्योगहरु थपिनेक्रम बढेको छ तर ती उद्योगहरुले सरकारी मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता नविकरण समेत नभएको भन्ने व्यापक गुनासा आएका छन् ।”कोइरालाले भने,“क्रसर उद्योगहरुलाई कसरी मापदण्ड पालना गराउन सकिन्छ भन्ने बारेमा सबै समन्वय प्रमुखहरुसँग छलफल गर्दछौँ ।”

बैठकमा समितिका सदस्यहरु इन्द्रलाल सापकोटा, भागबत प्रकाश मल्ल, हरिशरण आचार्य ,जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा र सरिता गुरुङले आ–आफ्नो जिल्लामा क्रसर उद्योग र त्यहाँको अबस्था बारे जानकारी दिएका थिए ।

बैठकले बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढीका कारणले ठूलो मानविय तथा भौतिक क्षति पुगेकामा दुःख व्यक्त गर्दै बाढी पहिरोमा परेर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली तथा परिवार जनमा समवेदना व्यक्त गरेको छ ।

घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दे वेपत्ताहरुको खोजीकार्य तीव्र पार्न समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।प्रदेश सभा अन्तरगतको विद्यायन समितिका सभापति मोहन रेग्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Comments
Loading...