कास्कीमा जोर विजोर पुनः एक साता लम्वियो,यात्रुबाहक बस बन्दै(प्रशासनको सूूचना सहित)

पोखरा,२० भदौ । कोरोना भाईरसको सङ्क्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ ।

कास्कीमा सार्र्जजनिक यात्रुबाहक बस तथा माइक्रोबस भदौ २७ गतेसम्मनै बन्द हुने भएका छन् । यसअघि गत भदौ १२ गतेबाट जिल्ला प्रशासनले त्यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएपनि सार्वजनिक यातायात भदौ २० गतेसम्म बन्द गर्ने आदेश जारी गरेकामा शुक्रबार पुनः अर्को आदेश जारी गरेको छ ।

जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ः०० बजे देखि साँझ ८ः०० बजे सम्म सञ्चालन गर्न सकिने जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गर्नुभएको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

मानिसले बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।

आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७.०० बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।

Comments
Loading...