काठमाडौं,२१ भदौ । पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्देशिका दुई दिनभित्र सार्वजनिक हुनेछ ।
प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई वैकल्पिक विधिबाट तत्काल पठनपाठन शुरु गराउन र निजी विद्यालयलाई सो माध्यमबाट पढाएबापत शुल्क लिने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएपछि मन्त्री पोखरेलले निर्देशिका तयार पार्न लागेका छन् ।
मन्त्रालय स्रोतका अनुसार सम्भवतः मंगलबारभित्र निर्देशिका जारी गरी असोजबाट पठनपाठन शुरु गर्न देशैभरका विद्यालयलाई निर्देशन दिइने सम्भावना रहेको छ ।
निर्देशिकामा विद्यार्थी भर्ना गरी शैक्षिक तथ्यांक तयार गर्ने, पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई समायोजन गरी करिब ७० प्रतिशत मात्र पढाउने व्यवस्था गर्नेछ । निर्देशिकामा पाठ्यक्रम विकास केन्द्रले पाठ्यभार समायोजन गर्ने विषय उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका हुन् ।