लस्ती खोला झोलुङ्गे पुल उद्घाटन,अब ४५ मिनेटको बाटो पाँच मिनेटमा पार

पोखरा,२१ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ र ४ जोड्ने गरी लस्ती खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गतको अनुदान सहयोग, गाउँपालिका र स्थानीयको जनश्रमदान गरी रु ४९ लाल ६१ हजार ३०३ लागतमा निर्माण गरिएको पुलको शनिबार गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गरे ।

वडा नं ३ घाचोकको डिलिनचौर र वडा नं ४ लाहाचोक पहेँले जोड्ने गरी निर्माण गरिएको १०६ मिटर लामो पुल बनेपछि दुबै वडाका नागरिकलाई अप्ठ्यारो खोलाको असुरक्षित बाटोबाट उकाली÷ओराली गर्नुपर्ने बाध्यताको अन्त्यपछि स्थानीवासी खुःशी भएका छन् । पुलबाट कृषि कार्य तथा कृषि उत्पादनको बजारिकरणमा समेत सघाउने विश्वास लिइएको छ ।

पुल निर्माणपछि ४०० घरधूरीका दुई हजार जनसङ्ख्या प्रत्यक्ष लाभाविन्वत भएको जनाइएको छ । क्षेत्रगत कार्यक्रमबाट रु ४५ लाख ६४ हजार ३९८, गाउँपालिकाबाट रु दुई लाख ९७ हजार ६७८ तथा जनश्रमदान ९९ हजार २२६ लागतमा पुल निर्माण भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले पालिकाभित्र झोलुङ्गे पुलको अभावमा आधा घण्टा भन्दा बढी समय लाग्ने र घुमाउरो बाटो हिँड्नुपर्ने ठाउँमा आगामी दुई वर्षभित्रमा पुल निर्माण गरिने बताए ।

सङ्घ तथा प्रदेश सरकारको सहयोगमा अत्यावश्यक ठाउँहरुमा पुल निर्माणका लागि प्राविधिक नाप जाँच समेत शुरु भईसकेको जानकारी दिँदै अध्यक्ष गुरुङले खरिबोट र भिरकटेरा तथा पाटन र भुजेलथर जोड्ने पुल यसै वर्ष निर्माण शुरु गरिने उल्लेख गरे ।

पुल निर्माणमा प्राविधिक सहयोग उपलव्ध गराएको नौलो घुम्तीका अध्यक्ष अध्यक्ष खड्क रानाभाटले झोलुङ्गे पुलका माध्यमबाट तुईन विस्थापन गर्ने सरकारको योजना रहेकाले त्यसलाई सफल बनाउन आफ्नो संस्थाले सहयोग गर्ने स्पष्ट पारे ।

वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले पुन बनेपछि ४५ मिनेटको बाटो पाँच मिनेटमा वारपार गर्न सकिने जानकारी दिए । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबाबु हमालले गत माघ देखी काम शुरु भएकामा कोरोना महामारीमा समेत निरन्तर निर्माण कार्य गरिएको जानकारी दिए ।

कार्यक्रममा नौलो घुम्तीका प्राविधिक पदम गुरुङ, जग्गादाता शारदाप्रसाद लम्साल लगायतले जनतालाई थप सुविधा पुगेको बताएका थिए ।

Comments
Loading...