गण्डकीका कृषिमन्त्री र सचिव बीच कार्यसम्पादन सम्झौता

पोखरा,२२ भदौ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर र मन्त्रालयका सचिव सवनम सिवाकोटीबीच आज मन्त्रालयमा कार्यसम्पादन सम्झौता भएको छ ।

मन्त्रालयको चालू आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत नीति तथा कार्यक्रम, वार्षिक विकास कार्यक्रम र आयोजनाहरुको कार्यान्वयन,कार्ययोजनामा निर्धारित क्रियाकलापहरु कार्यतालिका बमोजिम सम्पादन गर्ने उद्धेश्यले प्रदेश सुशासन ऐनले गरेको व्यवस्था अनुसार कार्यसम्पादन सम्झौता गरिएको मन्त्री थापामगरले बताए ।

उनले भने,“हामीले चालू वर्षमा कार्यान्वयन गर्ने कार्यक्रम योजना मुख्यमन्त्री कार्यालयमा पेश गरेका छौँ,निर्दिष्ट लक्ष्य हासिल गर्नका लागि दैनिक कार्यतालिका बनाइएको छ, यस सम्झौताका आधारमा जिम्मेवार कर्मचारीहरु तथा महाशाखा प्रमुखहरुसँग थप सम्झौता गरिनेछ ।”
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, सहकारी विकास र वैज्ञानिक भूमि व्यवस्थापन सहित रोजगारी सिर्जना र गरीबी निवारण गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यप्रति प्रतिवद्ध रहने सम्झौतामा उल्लेख छ ।

आर्थिक कारोबारमा नियमितता,कार्यक्षमता, प्रभावकारिता,औचित्यता कायम राख्ने, आर्थिक नियन्त्रण र अनुशासन कायम गर्ने,सार्वजनिक खरीद ऐन,नियमावली तथा प्रदेश नियमावली, आर्थिक कार्यविधि लगायतका प्रचलित कानूनको पालना गर्ने÷गराउने छन् ।

करिव दुई महिना मन्त्रालयमा सचिव नहुँदा सम्झौता लगायतका अन्य कार्र्य रोकिएकामा सचिव शिवाकोटीले पदभार ग्रहण गरेको भोलिपल्ट चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि सो सम्झौता भएको हो ।

Comments
Loading...