कास्कीको अन्नपूर्ण गाउँपालिकाकी ६३ वर्षीया महिलाको काठमाडौँमा कोरोनाबाट मृत्यु

पोखरा,२३ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ निवासी ६३ वर्षीया महिलाको काठमाडौँमा कोरोनाका कारणले मृत्यु भएको छ ।

विरेन्द्र अस्पताल छाउनीमा उपचाररत उनको भदौ २१ गते विहान ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

ब्रेन ट्युमर तथा मृगौलाको समस्या भई उपचाररत ती महिलामा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको जनाइएको छ ।

त्यसैगरी कास्की र नवलपरासीमा गरी आज विहान थप ११ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा छ र कास्कीमा पाँच जनामा संक्रमण देखिएको हो ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । वडा नं १२ मा २६ र २२ वर्षीय पुरुष, वडा नं १४ मा ३७ वर्षीय पुरुष तथा वडा नं १५ र २७ मा २० र ४२ वर्षका पुरुष छन् ।

Comments
Loading...