राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान कार्यक्रमले पोखरामा हटायो रगत अभाव

पोखरा,२४ भदौ । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसुती,मृगौला,क्यान्सर तथा नियमित डायलासिसका बिरामीहरु रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी ‘रिफर’ भएर आउने भएकाले यहाँ जहिलेपनि रगतको माग उच्च हुने गर्दछ । यसपटक गत भदौ पहिलो सातादेखी जारी निषेधाज्ञाका कारण नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भयो ।

रगत सहज आपूर्ति नभएको र बिरामीहरु प्रभावित भएको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा सङ्घ कास्कीले भदौ १७ गतेदेखी आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमले अभाव पूर्ति गर्न मद्धत पुगेको छ ।जनयुद्धका शहीदद्धय सुरेश वाग्ले र भीमसेन पोेखरेलको २१ औँ स्मृति दिवसको सन्र्दभ पारेर कोरोना कहरकाबीच जिल्लामै पहिलोपटक भदौ २३ गतेसम्म एक साता आयोजना गरिएको कार्यक्रमबाट २१२ युनिट रगत सङ्कलन भएपछि तत्कालका लागि अभाव हटेको हो ।

रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कोरोना त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक सातासम्म गरिएको कार्यक्रमबाट केन्द्रमा रगतको मौज्दात बढाउन सहयोग पुगेको र अभाव हटेको बताए । हाल कोही पनि विरामी रगत अभावमा फर्कनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले दैनिक गरिएको कार्यक्रमबाट ताजा रगत आवश्यक पर्ने बिरामीलाई राहत मिलेको उल्लेख गरे ।

“एक सातासम्म एउटा संस्थाले रक्तदान कार्यक्रम गरेको पोखरामा पहिलो पटक हो, उहाँहरुले थालनी गरेको कामबाट नयाँ अनुभव प्राप्त भएको छ ।”ज्ञवालीले भने,“आगामी दिनमा अभावका बेला सहज रगत आपूर्तिका लागि व्यवस्थापन गर्न आँट मिलेको छ ।”

राजनीतिसँगै युवाहरुलाई सामाजिक कार्यमा जोड्ने योजना अनुसार राष्ट्रिय युवा सङ्घले पोखरामा वर्षेनी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । तर साताव्यापी कार्यक्रम भने पहिलोपटक गरेको हो ।

सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रम समेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले विरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताउँछन् ।

“हामी राजनीतिक सङ्गठन हौँ तर सङ्कटको बेलामा त्यससँग जुध्दै सामाजिक कार्य गर्न सक्षम छौँ भनेर प्रमाणित समेत गरेका छौँ”पौडेलले भने,“यसबाट लामो समय निस्क्रिय सङ्गठनका नेता कार्यकर्तालाई समेत योजनामा जोडेर क्रियाशिल बनाउन र समस्या पर्दा युवा जनताको साथमा उपस्थित रहन्छ भन्ने सन्देश दिन सफल भयौँ ।”

युवा नेता विनय थापा प्रतिकूल परिस्थितिको सामना गर्दै कार्यक्रम गरिएको बताउँदै युवाहरु जहिलेपनि रचनात्मक र सामाजिक कार्यमा क्रियाशिल हुँदै आएको बताए । जनताका समस्या र आवाजलाई सम्वोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाई छ ।

“चूनौतीका बीचमा एक दिन कार्यक्रम गरेपनि हुन्थ्यो तर अप्ठ्यारो अवस्थाको सामना गरेर एक सातासम्म,राम्रोसँग व्यवस्थित हिसावले सफल भयो ।” थापाले भने । कोरोना कहरकाबीचमा शहीदको स्मृति दिवस पारेर आयोजना गरिएको कार्यक्रमले शहीदप्रति समेत सम्मान भएको राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य पूर्ण लामाको भनाई छ ।

“हाम्रो कार्यक्रमले युवाहरु सङ्कटका बेलामा समेत एकजुट हुन सक्छन् भन्ने सन्देश दिएको छ, अप्ठ्यारो समयमा समेत युवाहरु रगत दिन तयार भए । यसले शहीदप्रति समेत सम्मान भएको छ।” उनले भने ।

पोखरामा दैनिक ७० युनिट हाराहारीमा रगतको माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । निषेधाज्ञाका बेलामा रगत आपूर्तिका लागि अहिले रक्तसञ्चारको घुम्ती रक्त सङ्कलन एम्बुलेन्स बस मार्फत रक्तदान कार्यक्रम हुदै आएको छ ।

Comments
Loading...