क्रसर उद्योगको मापदण्ड कार्यान्वयन गर्न विकास समितिको जोड

पोखरा,२५ भदौ । गण्डकी प्रदेशका क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन प्रदेश सभाको अर्थ तथा विकास समितिले माग गरेको छ ।

समितिले बुधबार आयोजना गरेको भर्चुअल वैठकमा सहभागीहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद् भएको बताउँदै मापदण्ड कार्यान्वयन गर्न दबाव दिएका हुन्। समितिले बुधबार क्रसरका मापदण्ड कार्यान्वयनमा भूमिका खेल्ने पक्षहरुबीच आयोजना गरेको बैठकमा सहभागीहरुले मापदण्ड कार्यान्वयन गर्न नसक्ने हो भने मापदण्ड संसोधन गर्नपनि चुनौति दिएका थिएका थिए ।

बैठकमा विषय प्रवेश गराउँदै संसदको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले गण्डकी प्रदेशका क्रसरहरु मापदण्ड बिपरित सञ्चालन भइरहेको बताए । कुनैपनि क्रसरहरु मापदण्ड अनुसार सञ्चालन छैनन यस्ले सरकार,सांसद जनप्रतिनिधि सवैलाई जनताले आशंका गर्ने ठाउँ बनाएको भन्दै उनले मापदण्ड दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

मापदण्ड कार्यान्वयन नगरेको प्रति सांसद ईन्द्रलाल सापकोटाले स्थानीय तह र सरकारकै नजिकका आसेपासेहरुले क्रसर उद्योग सञ्चालन गरेका छन्, त्यहि भएर मापदण्ड कार्यान्वयनमा नआएको हुन सक्ने भन्दै आशंका व्यक्त गरे ।सांसद जनकलाल श्रेष्ठले मापदण्ड कार्यान्वयन गराउन आफ्नो समितिले निरन्तर खबरदारी गरिरहने बताए ।

(जिसस) तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिससलाई अनुगमनको अधिकार भएपनि कारवाही गर्ने अधिकार नै छैन, कारवाहीको लागि सिफारिस गर्दापनि स्थानीय तहले कार्यान्वन नगर्ने गरेको बताए ।

पर्वतका जिसस प्रमुख मनोहर विश्वकर्मा पौडेलले पर्वतमा पनि क्रसरमा समस्या रहेको बताए । पर्वतमा चोरी निकासी बढी भएको भन्दै प्रदेशबाट पनि अनुगमन वेला वेला गरिदिनको लागि आग्रह गरे ।

स्याङ्जा जिसस प्रमुख सीता सुन्दासले स्याड्जामा पनि मापदण्ड अनुसार क्रसर सञ्चालनमा नरहेको बताउदै संघ र प्रदेशको मापदण्ड एकरुपता हुन आबश्यक रहेको बताइन् ।

 

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले क्रसरका मापदण्ड दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।
असोज १ गतेपछि क्रसरहरुको तालिका बनाएर नियमित अनुगमन गर्ने बताउँदै उनले भने,‘क्रसरका मापदण्ड हेरफेर हुँदैन, अहिले भएकै मापदण्ड दृढतापूर्वक कार्यान्वयन हुन्छ।’ उनले मापदण्ड लागू नगर्ने क्रसर उद्योगहरुलाई कार्वाही गर्ने चेतावनीसमेत दिए ।
मापदण्ड लागू नगर्ने क्रसर उद्योग बन्द गर्ने बताउँदै उनले नियमविपरित खोलामा डोजर चलाएको देखे पक्राउ गरेर कारवाही गर्ने प्रतिवद्धता जनाए ।वैठकमा बाग्लुङका जिसस अधिकारी , नवलपुरका जिसस अधिकारी लगायतले पनि आफ्नो जिल्लामा क्रसर उद्योगको अवस्था बारे जानकारी गराएका थिए ।

Comments
Loading...