मिर्गौलाका बिरामीको रु एक लाखको निःशुल्क कोरोना बीमा

काठमाडौँ,२५ भदौ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी सङ्क्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा रु एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताए । सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ । त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीको औषधि वितरण तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

Comments
Loading...