कास्कीमा जोर विजोर हट्यो,सार्वजनिक यातायात सञ्चालन हुने(निर्णय सहित)

पोखरा,२६ भदौ । कोरोना संक्रमण रोकथामका लागि कास्कीजिल्लाभर आह्वान गरिएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को आज बसेको बैठकले भदौ २७ गते राति १२ बजेपछि जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि जारी गरिएको जोर विजोरको आदेश समेत हटाइएको छ ।

जिल्लाभर यात्रुबाहक सवारी साधनहरु स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनुसार भौतिक दूरी कायम हुने गरी एक लहरमा एक जना(कुल सिट क्षमतामा आधा भन्दा बढी नबढ्ने)मात्र बस्ने व्यवस्था गरी विहान ६ बजेदखी साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला प्रशासनलाई सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसी बैठकले शैक्षिक संस्था, प्रशिक्षण, मेला, सभा, सम्मेलन तथा खेलकूदका कार्यक्रमहरु भने आगामी असोज ६ गते राति १२ बजेसम्मनै सञ्चालनमा रोक लगाएको छ ।

Comments
Loading...