पोखरामा हिजो मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि

पोखरा,२७ भदौ । पोखरामा बिहीबार राति मृत्यु भएकी एक महिलाको आज कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घर भई  हाल पोखरा महानगरपालिका–५ मालेपाटनकी ४७ वर्षीया महिलाको शुक्रबार विहानै अन्त्येष्टि गरिएकामा उनको रिपोर्ट पोजिटिभ आएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

लामो समय ब्लड क्यान्सरबाट पीडित उनी स्वास्थ्यमा समस्या भएपछि फिस्टेल अस्पतालमा तीन दिनअघि भर्ना भएकामा बिहीबार विहान कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकामा राति १ बजे भेन्टिलेटरमा मृत्यु भएको थियो ।

अस्पतालले कोरोनाका कारणले नभई मृत्यु अन्य कारणले भएको जनाउँदै भोलिपल्ट विहान परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवार अन्त्येष्टि गरेका थिए । महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

मृतकका श्रीमानले हिमाली आवाज डटकमसँग कुरा गर्दै अस्पतालले शव लैजान भनेकाले आफूहरुले ल्याएर अन्त्येष्टि गरेको बताए । “हामीले सोध्दा मृत्युको कारण कोरोना होइन, फरक हो,लैजानु भनेपछि रिपोर्ट नआउँदै अन्त्येष्टि गरेका हौँ ।” उनले भने ।

अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरवाही भएको स्वास्थ्य महाशाखाको भनाई छ ।  अस्पतालले रिपोर्ट नआउँदै विरामीको शव हस्तान्तरण गरेर कोरोना जस्तो गम्भिर मामिलामा हेलचक्राई गरेको छ । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।

फिस्टेल अस्पतालका प्रवक्ता मधु ज्ञवालीले भने आफूले बल्ल त्यस बारेमा थाहा पाएको बताउँदै त्यसका बारेमा बुझ्ने बताइन् । नमूना परीक्षणको रिपोर्ट नआउँदै परिवालाई शव हस्तान्तरण गर्नु अस्पतालको गम्भिर लापरवाही भयो नि भन्ने प्रश्नमा उनले यसका बारेमा छलफल गरिने बताइन् ।

Comments
Loading...