नेकपा मादीको शपथ ग्रहण : विकासमा पार्टी र जनप्रतिनिधिको समन्वय आवश्यक : सहइन्चार्ज अधिकारी

पोखरा,२७ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मादी गाउँपालिका कमिटीको शपथ ग्रहण आजदेखी शुरु भएको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर गाउँकमिटीको शपथ छुट्टाछुट्टै स्थानमा तीन दिनका लागि तय गरिएको छ ।

मादीको वडा नं ८ देखी १२ सम्मका २८ जना पालिका कमिटी सदस्यहरुको शपथ वडा नं १० को थुम्सीकोट कस्यारीमा आज गरिएकामा कमिटी सदस्यहरुलाई नेकपाका गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद खगराज अधिकारीले शपथ गराएका थिए ।
कार्यक्रममा नेता अधिकारीले अब तल्लो कमिटीसम्म गएर पार्टी कमिटी संगठन विस्तार तथा सुदृढीकरणको काम तत्काल थालनी गर्न आग्रह गरे ।

पार्टीको केन्द्रीय तहमा देखिएको विवाद समाधान भएको र पार्टी एक ढिक्का भएको बताउँदै उनले माथिल्लो तहमा एकतालाई खलल बनाउन खोज्नेहरुका विरुद्ध तलैबाट कार्यकर्ताहरुले दवाव दिनुपर्ने स्पष्ट पारे । जनप्रतिनिधि र पार्टीको नेतृत्वबीचमा समन्वयका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्नेमा सहइन्चार्ज अधिकारीले जोड दिए ।

पार्टी केन्द्रीय कमिटीका सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ(करण)ले कम्यनिष्ट विचार, आदर्श र नैतिक मान्यता अनुसार पार्टीको नेतृत्ग र कायर्कता लाग्नुपर्ने बताउँदै जनप्रतिनिधिले सोही अनुसार जनताको सेवा गर्नुपर्ने बताए । नेता गुरुङले अहिलेको आवश्यकता मजवुत र एकतावद्ध पार्टी बनाउनु रहेकाले एकतामा कसैले पनि गडवढ गर्न नहुने बताए ।

नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले पार्टीका नेता कार्यकर्ता जनताको मन जितेर जनसेवामा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिक सभापति दीपक कोइराला,अर्का प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, पार्टी जिल्ला कमिटीका सचिव बखानसिँह गुरुङ,मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम), नेकपा जिल्ला कार्यालय सदस्य कल्पना पाण्डे लगायतले पार्टीलाई जनमुखी बनाउनुपर्ने आवश्यकता औँलयाएका थिए ।

गाउँपालिका कमिटीका अध्यक्ष कृष्णराज दाहालले दुई वर्षसम्म पार्टीको सांगठनिक एकताको काम सम्पन्न नहुँदा पार्टी नेता तथा कार्यकर्ता कामविहिन भएको बताउँदै दुई वर्षमा भएको क्षतिको साँवा,व्याज सहित असुल उपर गर्ने गरी संगठन निर्माण तथा जनसेवाका काममा लाग्न कमिटीका सदस्यहरुलाई निर्देशन दिए । शपथ कार्यक्रमको सञ्चालन सचिव पदमप्रसाद पौडेलले गरेका थिए ।

Comments
Loading...