गण्डकी प्रदेशमा आइतबार ६८ सङ्क्रमित थपिए

पोखरा,२८ भदौ । गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको ९५९ नमूना परीक्षणमा ६८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसअवधिमा १७ जना निको भएका छन्  ।

थपिएका सङ्क्रमितहरुमा लमजुङमा सर्वाधिक धेरै २७ जना छन् । त्यसैगरी कास्की र तनहुँमा छ÷छ, नवलपरासीमा १४,स्याङ्जामा पाँच र गोर्खामा सात छन् ।

प्रदेशमा सङ्क्रमित मध्यमा एक हजार ८७८ जना उपचारपछि निको भएका छन् भने मृतकको सङ्ख्या २७ पुगेको छ ।कोरोनाको सक्रिय बिरामी एक हजार ६६ जना रहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी प्रदेशमा मृतकको सङ्ख्या २७ पुगेको छ । गण्डकी प्रदेश स्थायी घर भएका तीन जनाको राजधानीमा यसअघि उपचारका क्रममा ज्यान गएको विवरण आएको हो ।

कास्कीको मादी गाउँपालिका–४ स्थायी घर भएका ५१ वर्षीय पुरुषको भदौ २६ गते, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ का ७६ वर्षीया महिलाको भदौ २४ तथा गोरखाको भीमसेन थापा गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको भदौ २७ गते मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएको निर्देशक शर्माले बताए ।

प्रदेशमा अहिलेसम्म ५७ हजार २५३ जनाको नमूना परीक्षण गरिएकामा ५४ हजार २८२ जनाको नतिजा नेगेटिभ(कोरोना नभएको) आएको छ ।

Comments
Loading...