‘गण्डकीले खेलकूदमन्त्री पाएकाले धेरै खेलकूद पूर्वाधार निर्माण’

पोखरा,२९ भदौ । ‘मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मुल मन्त्रका साथ स्थापित सहारा क्लव पोखराले आफ्नो २२ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकूद परिषद (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले अव सहाराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने बताए ।

“गण्डकी प्रदेशले खेलकुद मन्त्री पाएको हुनाले नै अहिले धेरै खेलकूद पूर्वाधारहरुको निर्माण सम्भव भएको छ।”उनले भने,“अव सहाराले यी पूर्वाधारहरुमा खेलाडी उत्पादान गर्दै गण्डकी प्रदेशको फुटबलको भविष्य माथि उठाउन पर्छ ।”

कोभिड १९ को महामारीकाबीच पनि क्लवले आफ्नो संस्थाको वार्षिकोत्सव कार्यक्रमलाई निरन्तरता दिँदै रक्त दान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । गँगाराज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा ५८ औं पटक कृष्ण प्रसाद तिवारीले रक्तदान गरेका थिए । चार जना महिलाले समेत रक्तदान गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

सो अवसरामा रक्त सञ्चार केन्द्रका प्राविधिक अधिकृत महेन्द्र वहादुर केसीलाई संस्थागत रक्त संकलन प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगाएतको सहभागिता रहेको क्लवले जनाएको छ ।

सहारा खेलकूद पत्रकारिता पुरस्कार पौडेललाई, उत्कृष्ट सदस्य पुरस्कार प्रकाशलाई
यसैबीच सहाराको वार्षिकोत्सवका अवसरमा पोखराका खेल पत्रकार इन्द्रप्रसाद पौडेललाई यस वर्षको सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिदै छ । क्लवको २२ औं वार्षिकोत्सव अवसरमा भदौ ३० गते सो पुरस्करा अपर्ण गर्ने कार्यक्रम छ ।

त्यसैगरी सहारा उत्कृष्ट सदस्य पुरस्कारबाट यस वर्ष क्लवका सदस्य प्रकाश राना मगर सम्मानित हुने भएका छन् । क्लवले हरेक बर्ष प्रदान गर्दै आएको सहारा सदस्य उत्कृष्ट पुरस्कारबाट यस बर्ष राना सम्मानित हुनेछन् ।

भदौ २३ गते बसेको बैठलले उक्त निर्णय गरेको क्लवले जनाएको छ । विसं २०७२ साल देखि क्लव आबद्ध रानालाई सम्मान पत्र, सहित दोसल्ला र मायाको चिनोबाट सम्मानित गरिने भएको छ ।

Comments
Loading...