बैदेशिक रोजगारीमा ज्यान गुमाएकाका सन्ततिलाई छात्रवृत्ति वितरण

पोखरा,३० भदौ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाई आज छात्रवृत्ति प्रदान गरेको छ ।

सरकारले श्रम स्वीकृति लिएर कानूनी प्रक्रिया पूरा गरी बैदेशिक रोजगारमा गएका र विदेशमा ज्यान गुमाएका बाबु÷आमाका सन्ततिलाई कक्षा १ देखि ८ सम्मको लागि वार्षिक रु ८ हजार र ९ देखि १२ सम्मका लागि रु १२ हजार छात्रवृत्ति दिने गरेको छ ।

जिल्लामा २४ जना छात्र÷छात्रालाई जनही रु आठ हजार तथा १२ जनालाई जनही रु १२ हजारका दर गरी ३६ जना छात्र÷छात्रलाइ छात्रवृत्ति प्रदान गरिएको थियो ।

बालबालिका १८ वर्ष उमेर पूरा नहुँदासम्म र कक्षा १२ मा अध्ययन गर्ने बेलासम्म सरकारले प्रदान गरेको सो सुविधा प्राप्त गर्दछन् । जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष बैनबहादुर अधिकारीले छात्रवृत्ति रकम हस्तान्तरण गर्दै रकम थोरै भएपनि बालबालिकाको सुन्दर भविष्यसँग जोडिएको बताए ।

सरकारको गरेको सानो सहयोगले दुःखमा मलम पट्टी लगाउने काम गरेको उल्लेख गर्दै उहाँले सरकारले आफ्नो सहभागिताको अनुभूति पीडितमा गराएको स्पष्ट पारे ।

इकाइका प्रमुख नारायण सुबेदीले छात्रवृत्ति वितरण प्रक्रियामा विभिन्न कारणले ढिलाइ भएको बताउँदै सरकारको सानो सहयोगलाई बालबालिकाको शिक्षामा खर्च गर्न अभिभावकलाई आग्रह गरे ।

सामी परियोजना प्रमुख माया गुरुङले छात्रवृत्तिका लागि आवाज उठाएको र त्यसमा सफल भएको बताइन् ।

Comments
Loading...