पोखरामा दाहसंस्कारपछि कोरोना पुष्टि भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ

पोखरा,३१ भदौ । पोखरा गत बिहीबार राति मृत्यु भएकी पोखरा–५ बस्ने ४५ वर्षीया महिलाको परिवारका सबै सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

ती महिलाको दाहसंस्कारपछि भोलिपल्ट कोरोना संक्रमण पोजिटिभ आएपछि मलामी गएका २०० भन्दा बढी होम क्वारेन्टिनमा बसेका थिए ।

दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजिटिभ आएपछि परिवारका सदस्यहरु, आफन्त तथा अस्पतालमा बिरामी भेट्न गएका गरी पहिलो चरणमा २२ जनाको पिसिआर गरिएकामा सबैको नतिजा नेगेटिभ आएको महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए ।
महाशाखाले पहिलो चरणमा मृतकको निकट सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेको थियो ।

परिवारका सदस्यहरुको नतिजा नेगेटिभ आएपछि मलामी गएर होम क्वारेन्टिनमा बसेकाहरुलाई समेत राहत मिलेको छ ।  त्यसैगरी मलामी गएका गण्डकी प्रदेशसभा सदस्य, सञ्चारकर्मी समेतको रिपोर्ट नेगेटिभ आएको छ।

फिस्टेल अस्पतालमा उपचारको क्रममा ती महिलाको ज्यान गएको थियो । उनी क्यान्सर पीडित थिइन् ।

Comments
Loading...