बाग्लुङका पहिरो पीडितलाई गण्डकी प्रदेश सरकारबाट जनही ५० हजार सहयोग

पोखरा,१ असोज । गण्डकी प्रदेश सरकारले बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई राहत रकम प्रदान गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान बुधबार पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत प्रदान गरेका हुन् ।
पहिरोमा परी ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

राहत प्रदान गर्दै मन्त्री चुमानले विपत्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए ।स्थानीय सरकार र सङ्घ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उनले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरे ।

प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उनको आग्रह थियो । जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिराका कारण आठ घर पुरिएका छन् ।

Comments
Loading...