गण्डकी प्रदेशमा कोरोनासँगै डेङ्गु र स्क्रब टाइफसको संक्रमण

पोखरा,१ असोज । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण समेत बढेको छ ।

हालसम्म तनहुँ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपी गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।

कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका समेत बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्र्देशनालयले गत वर्ष पुष १६ देखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।

म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यसअवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ ।

School

कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक÷एक जना डेङ्गुका बिरामी भेटिएका छन् ।

त्यसैगरी बागलुङमा छ, नवलपरासीमा तीन र कास्कीका दुई जनामा स्क्रब टाइफस देखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
डेङ्गुको नियन्त्रण र सङ्क्रमण फैलन नदिनका लागि स्वास्थ्य संस्था मार्फत ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रमहरु शुरु गरिएको उनको भनाई छ ।

डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ ।

मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्ने लगायतका लक्षणहरु यसमा देखिन्छन् । डेङ्गुको उपचार समेत हालसम्म पत्ता लाग्न सकेको छैन ।

स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने भएकाले यसबाट जोगिन घर बाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।

टिप्पणिहरु
Loading...