पोखरामा खरीदभन्दा तेब्बर मूल्यमा प्याज बेच्ने पसल सील

सन्देश श्रेष्ठ
पोेखरा,२ असोज । पोखरामा प्याजको अभाव शुरु भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका प्याज व्यापारीहरुले प्याज स्टक राखेर कृतिम अभाव सिर्जना गरेपछि पोखरामा प्याजको अभाव सिर्जना भएको हो।

प्याजको अभाव देखाएर रातारात मूल्य बृद्धि गर्ने नियतले प्याजको होलसेलर व्यापारीहरुले पसल नै बन्द गरेका छन्। केहि सिमित पसलहरुले भने आफू खुशी प्याजको मूल्य बृद्धि गरेर बेचेको पाइएको छ।

प्याजको अभावसँगै मूल्य आकासिएपछि विहीबार प्रदेश बजार अनुगमन समितिले पोखराको बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा प्याजको अभाव देखाउन प्याजका होलसेलर ब्यापारीहरुले कृतिम अभाव सिर्जना गर्न पसल बन्द गरेको पाइएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइरालाले जानकारी दिए।

‘अनुगमनका क्रममा अधिकांश प्याज पसल बन्द देखियो’, उनले भने, ‘प्याजको अभाव देखाएर दिन दुई गुणा, रात चौगुणा मूल्य बृद्धि गर्न पाईन्छ भनेर पसल बन्द गरेको हाम्रो ठहर हो।’

बजार अनुगमन समितिले खुलेका प्याज पसललेपनि चर्को मूल्यमा प्याज बेच्ने गरेको पाइएको जनाएको छ। व्यापारीहरुले किनेको मूल्य भन्दा झण्डै तेब्बर मूल्यमा प्याज बिक्री गर्ने गरेको पाइएको अध्यक्ष कोइरालाले बताए। यसरी किनेको मूल्य भन्दा तेब्बर मूल्यमा प्याज बेच्ने होलसेल पसल बन्द गरिएको उनले जानकारी दिए। आफू खुशी बढी मूल्य लिएर प्याज बेच्ने पोखराको प्रदर्शनी केन्द्र स्थित कृषि उपज बजारको सटर नम्बर ५१ मा रहेको सन्दीप श्री ट्रेडर्समा सील गरिएको उनले बताए। सील गरिएको सो ट्रेडर्सको गोदाममा ५ सय बोरा प्याज रहेको कोइरालाले बताए।

विहीबार सील गरिएको सन्दीप श्री ट्रेडर्सले ४० रुपैयाँ प्रतिकेजी खरिद गरेको प्याज प्रतिकेजी १११ रुपैयाँमा बिक्री गरेको पाइएपछि सील गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए। जबकी विहीबार पोखरामा प्याजको खुद्रा मूल्य केवल ८५ देखि ९० रुपैयाँ मात्र छ।

तर शुक्रबारदेखि मूल्य बढ्ने भन्दै मूल्य बढाएर प्याज बेचेको पाइएको उनले जानकारी दिए। सील गरिएको पसलका सञ्चालक सन्दीपलाई भने तारिखमा बोलाइएको छ। उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन भनिएको कोइरालाले जानकारी दिए

Comments
Loading...