स्थानीय तह जनताको नजिकको सरकारका रुपमा रहेको छ :अध्यक्ष गुरुङ

पोखरा,३ असोज । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा गाउँपालिका एवम् स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा, दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष गुरुङले नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय सरकारको अधिकार र कर्तव्यको पूर्ण पालना र कार्यान्वय गर्ने प्रतिबद्धताका साथै संविधानले व्यवस्था गरेको मौलिक हक तथा अधिकारहरुमा जनताको पहुँच पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपालको स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधिनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धासुमन व्यक्त गरिएको छ ।

“नागरिकको अधिकार प्रवद्र्धन तथा शासनको अधिकारको सीमाङ्कन गर्ने ज्यावलको रुपमा लिएको संविधान देशको मूल कानून हो । नेपालको वर्तमान संविधान जनताका प्रतिनिधि मार्फत् निर्माण गरिएको ऐतिहासिक संविधान हो । यसले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा अंगिकार गरेको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ ।” जारी शुभकामना सन्देशमा भनिएको छ ।

संघात्मक राज्य व्यवस्था अनुरुप तीन तहको सरकार संघ, प्रदेश र स्थानीयबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष गुरुङले स्थानीय तह जनताको नजिकको सरकारको रुपमा रहेको उल्लेख गरेका छन् ।

वर्तमान संविधानले लिएको समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको कार्यान्वयनको लक्ष्यबाटनै समृद्धि, सुशासन र दिगो शान्ति कायम गर्न सकिने उल्लेख गर्दै उनले विश्वभरी फैलिएको कोरोना भाइरसले मानवीय स्वास्थ्य र सामाजिक तथा आर्थिक गतिविधिमा बाधा व्यवधान गरेकाले यस विषम परिस्थितिमा सम्पूर्ण गाउँपालिकावासीहरुमा सचेत, सजग र सुरक्षित रहनको लागि अनुरोध समेत गरिएको छ ।

 

Comments
Loading...