मादीका १३ वर्षीय बालक सर्पको डसाइपछि ४० दिनदेखी आइसीयूमा,उपचारमा सहयोग गर्न परिवारको याचना

पोखरा,४ असोज । कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा बिषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिदै जाँदा रकम अभाव भएपछि परिवारले सहयोगका लागि आग्रह गरेका हुन् ।
डसाईपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेकामा उपचारमा अर्थाभाव रहेको र काठमाडौँ लैजान आर्थिक अभावमा नसकिएको उहाँका दाजु महादेव पौडेलले बताए । बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा आठमा अध्ययनरत छन् ।
कोमाबाट १९ दिनपछि फर्किएका पौडेलको मुख र आँखा चलेपनि आज ४० दिनसम्म होसमा आउन नसकेको र चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरेपनि पैसाको अभाव भएको उनले बताए ।

भाइको उपचारमा हालसम्म रु आठ लाख हाराहारीमा खर्च भएको बताउँदै कमजोर आर्थिक अवस्थाका कारणले थप उपचार अघि बढाउन नसकिएको पौडेलले जानकारी दिए । उनले भने,“डाक्टरले तीन दिनअघिनै भाईलाई काठमाडौँको न्यूरो अस्पताल लैजान भन्नुभएको छ तर त्यहाँ उपचार गर्न सक्ने हाम्रो परिवारको अवस्था छैन । सहयोगी दाताहरुले केही रकम सहयोग गरे शिक्षण अस्पतालसम्म भएपनि लैजाने योजनामा छौँ ।”पौडेलले भाईको उपचारमा सक्दो सहयोग गरिदिन समेत सबैमा याचना गरेका छन् ।

उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि अहिले मादी गाउँपालिका वडा नं ६ का स्थानीयवासीले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । योगबहादुर क्षत्री(रवि) संयोजक र विकास क्षत्री सहसंयोजक रहेको विशाल पौडेल बचाउ अभियान अन्तर्र्गत आर्थिक संकलन उपसमितिशुरु गरिएको  हो ।  मादीवासी तथा देश विदेशबाट समेत अहिले सहयोग रकम जुट्नेक्रम भइरहेको संयोजक क्षेत्रीले बताए ।

विशाल पौडेल बचाउन अभियान शुरु गरी स्वेच्छीक रुपमा सहयोग सङ्कलन गरिएको र सहयोग आउनेक्रम जारी रहेको अर्काअभियन्ता एवं पौडेलका आफन्त सन्तोष अधिकारीले बताए ।

त्यसैगरी वडा कार्यालयले समेत सूचना जारी गरी पौडेलको उपचारमा सघाउन सङ्घ संस्था तथा व्यक्तिहरुमा आग्रह गरेको छ ।सहयोग गर्न इच्छुक व्यक्तिहरुले अभियानका नाममा माछापुच्छ्रे बैँकमा खोलिएको खाता नं १७०२५२४९४२६९५०१२ मा जम्मा गर्न वा ९८५६०००४४२५,९८४६९०७५११, ९८०३२६०३०७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Comments
Loading...