राष्ट्रिय कर्मचारी संगठन कास्की आधिकारिक ट्रेड युनियन निर्वाचन तयारीमा

पोखरा,४ असोज । सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनको कार्यक्रम घोषणा गरेपछि गण्डकी प्रदेशको केन्द्र पोखरामा कर्मचारी वृत्तमा निर्वाचनको सरगर्मी बढेको छ ।

आगामी असोज २४ गतेका लागि निर्वाचन मिति तय भएर जिल्ला सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि जिल्लाका बिभिन्न कर्मचारी संघ, संगठनहरु निर्वाचनको तयारीमा जुटेका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिति कास्कीले शनिबार पोखरामा संगठनको विस्तारित बैठक आयोजना गरी आक्रामक ढंगले सम्पूर्ण तयारीका साथ निर्वाचनमा होमिने निर्णय गरेको छ ।

निर्वाचन तयारीका लागि महासंघ प्रदेश संयोजक तारानाथ सुबेदीको अध्यक्षतामा जिल्लामा कार्यरत निजामती केन्द्रीय समितिका सदस्यहरु र प्रदेश कमिटिका पदाधिकारीहरु सदस्य भएको सात सदस्यीय समन्वय, सहजीकरण र सल्लाहकार समिति गठन गरिएको छ ।

संगठनका जिल्ला अध्यक्ष रामचन्द्र ढुंगानाको संयोजकत्वमा १०१ सदस्सीय निर्वाचन परिचालन मूल समिति तथा उपाध्यक्ष, अर्जुनदेव ज्ञवालीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार उप समिति गठन गरिएको छ ।

बैठकले सचिव श्याम लामिछानेको संयोजकत्वमा सात सदस्यीय कार्यालय व्यवस्थापन उप समिति गठन, कोषाध्यक्ष, रबिमोहन पौडेलको संयोजकत्वमा पाँच सदस्यीय अर्थ व्यवस्थापन उप समिति तथा तथा कार्यालयहरुको प्रकृति संरचना र कर्मचारीहरुको सेवा समूह एबं श्रेणीगत प्रकृतिका आधारमा निर्वाचन केन्द्रित विभिन्न आठ वटा ब्युरो गठन गरिएको जनाइएको छ ।

प्रत्येक ब्युरोको नेतृत्व एक जना केन्द्रीय सदस्यले गर्नेगरी जिम्मेबारी दिईएको संगठनका अध्यक्ष ढुँगानाले जानकारी दिए । साथै एउटा कार्यालयमा कम्तिमा एक जना स्रोत व्यक्ति चयन गरी संगठनका सबै सदस्यहरुलाई निर्वाचनमा केन्द्रित गराउने निर्णय गरिएको बताइन्छ ।

भेलामा नेपाल राष्ट्रिय कर्मचारी महासंघ, गण्डकी प्रदेश संयोजक तारानाथ सुबेदीले साँगठनिक एकता प्रक्रियामा हालसम्म भईरहेको गतिबिधिका बारेमा जानाकारी गराउदै आसन्न ट्रेड युनियन निर्वाचनमा कास्कीस्थित महासंघका सबै सदस्य संगठनहरुले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।

निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि अपनाउनुपर्ने विभिन्न उपाय, तरिका र मुद्दाहरुको बारेमा सुझाउदै संगठनका सम्पूर्ण कार्यक्रमहरु हाललाई चुनाव केन्द्रित गर्न जिल्ला संगठनलाई सुवेदीले निर्देशन दिए ।

संगठनका गण्डकी प्रदेश समिति सचिव शम्भु चापागाईले २४ गते सम्पन्न हुन गइरहेको आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई आफू र आफ्नो संगठनले अत्यन्तै महत्व दिएको यसपटकको चुनावमा उल्लेख्य परिणाम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

केन्द्रीय सदस्य रामहरी खड्काले सबै संगठित सदस्यहरु एकमतका साथ् निर्वाचनमा होमिनु पर्ने बताए । जिल्ला अध्यक्ष ढुंगानाले संगठनका सम्पूर्ण कार्यक्रमहरु २४ गतेका लागि केन्द्रीय भएको जानकारी दिँदै चुनावमा सक्रिय भएर परिचालित हुन कास्की जिल्ला समितिका सदस्यहरु लगायत सबै सदस्यहरुलाई निर्देशन दिए ।

Comments
Loading...