छ महिनापछि पोखरामा सञ्चालन भयो प्याराग्लाइडिङ

हिमाली आवाज । पर्यटकको महत्वपूर्ण आकर्षण साहसिक खेल प्याराग्लाइडिङ पोखरामा आजदेखी पुनः सञ्चालनमा आएको छ ।
कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको बन्दाबन्दीका कारण गत चैत १० देखी बन्द रहेको प्याराग्लाइडिङ छ महिनापछि बल्ल सञ्चालनमा आएको हो ।

नेपाल हवाई खेलकूद संस्था(ना)ले प्याराग्लाइडिङ सञ्चालनमा आएको जानकारी दिँदैँ कम्पनी तथा पाइलटहरु सेवा सुचारुका लागि तयारी अवस्थामा रहेको र उडान शुरु भएपनि व्यावसायिक उडान भने नभएको जनाएको छ । नाका अध्यक्ष कृष्ण भण्डारीले लामो समयदेखी बन्द रहेको प्याराग्लाइडिङ शुरु भएको सन्देश दिएर कम्पनीले उडान शुरु गरेको बताए ।

“प्याराग्लाइडिङको मुभमेन्ट गराऔँ भनेर सञ्चालनमा ल्याएका हौँ तर तत्कालै व्यावसायिक उडान हुने र आय आयर्जनका बारेमा सोचेका छैनौ।”अध्यक्ष भण्डारीले भने,“अत्यावश्यक भन्दा पनि साहसिक मनोरञ्जनको माध्यम भएकाले यस व्यवसाय पूर्वःवत अवस्थामा फर्किन स्वदेशी तथा विदेशी पर्यटक आउने वातावरण बन्नु पर्दछ ।”

प्याराग्लाइडिङ उडानमा समेत आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने, तापक्रम लिने, मास्क तथा सेनिटाइजर प्रयोग गर्ने लगायतका आधारभूत स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्न पाइलट तथा कम्पनीहरुसँग छलफल गरिएको नाले जनाएको छ ।

पोखरामा सञ्चालित प्याराग्लाइडिङ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण रहने गरेको छ । केही वर्षयता प्याराग्लाइडिङ खेलले आगन्तुक पर्यटकहरुलाई मनोरञ्जन प्रदान गरेको छ । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् भने ३५० हाराहारीमा नेपाली पाइलट छन् ।

Comments
Loading...