पोखरा महानगरका अधिकृत पौडेलको सरुवा निन्दनीय : कास्की काँग्रेस

पोखरा, ५ असोज । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिका नवौं तहका अधिकृत जयराम पौडेललाई ३ महिने काजमा खटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरपालिकालाई भ्रष्टाचारको अखडा बनाउनका लागि इमान्दार कर्मचारीहरुलाई राजनैतिक पूर्वाग्रह राखेर गरिएको सरुवा निन्दनीय भएकोले तत्काल सच्याउन माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी महानगरपालिका भित्रको अनियमितता छानविन नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा महानगरपालिकाका बेथिति र अनियमितताका बारेमा कास्की काँग्रेसले पटक पटक ध्यानाकर्षण गराउँदै आएको भन्दै उनले आजसम्म कुनै कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको उल्लेख छ ।

विज्ञप्तिमा महानगरपालिका भित्रका बेथिति बारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ बुँदे विषयहरुप्रति गम्भीर नबन्नु, विभिन्न सामाजिक तथा नागरिक समाजसँग सम्बन्धित संघ संस्था र राजनैतिक दलहरुको रचनात्मक र सकारात्मक ध्यानाकर्षणलाई पूर्ण रुपमा बेवास्ता गरिनु दुःखद् विषय भनिएको छ ।

विज्ञप्तिमा पोखराका मुख्य बजार क्षेत्रमा महानगर पालिकाले सम्झौताभन्दा बढी डिजिटल प्रतिक्षालयहरु बनाउनु र त्यसमा अनियमितता भएको विषय सार्वजनिक भएपछि रातारात भत्काउनुले महानगरपालिका भित्रको भ्रष्टाचारलाई छर्लङ्ग बनाएको उल्लेख छ ।

यस्तो निन्दनीय कार्यमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको समेत संलग्नता देखिएको विषय सार्वजनिक हुनु अत्यन्त दुःखद विषय हो, तसर्थ जनताको करलाई दुरुपयोग हुने कुनैपनि काम नगर्न महानगरपालिलाई सचेत गराउँदछौं विज्ञप्तिमा उल्लेख छ ।

 

Comments
Loading...