लमजुङमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

पोखरा,६ असोज । लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् ।

घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ ।

Comments
Loading...