पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अब लक्षण नदेखिएकाको पिसीआर परीक्षण नहुने

हिमाली आवाज ।
गण्डकी प्रदेशमा कोरोनाको परीक्षण हुँदै आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले अब लक्षण देखिएका बाहेक अन्यको पिसीआर परीक्षण नगर्ने भएको छ ।

प्रदेशको सबैभन्दा ठूलो सो सरकारी अस्पतालको प्रयोगशालामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालको बहिरङ्ग विभाग र ‘फिभर क्लिनीक’मा खटिएका चिकित्सकले जाँच गर्दा कोभिड–१९ लक्षण भएका व्यक्तिहरुको मात्रै पिसीआर परीक्षण गर्ने जनाएको छ ।
अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले मन्त्रालयलयबाट लक्षण नदेखिएका बिरामीको परीक्षण नगर्न र लक्षण भएकाहरुको मात्र परीक्षण गर्न आग्रह सहितको पत्र प्राप्त भएकाले सोको कार्यान्वयनका लागि उक्त निर्णय गरिएको बताए ।

अस्पतालले होम आइसोलेशनमा रहेका, ट्राभल हिस्ट्री भएका तथा कन्ट्याक ट्रेसिङमा परेका सेवाग्राहीहरुको स्वाब सङ्कलनका लागि आफू बसोबास गरिरहेको पालिका तथा वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यस बाहेक अन्य सेवाग्राहीले स्वेच्छाले पिसीआर परीक्षण गराउन चाहेमा अस्पतालको फिभर क्लिनीकमा सम्पर्क गर्न सक्ने जनाएको छ ।
पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सहित प्रदेश सरकार मातहतको प्रदेश क्षयरोग उपचार केन्द्रमा गण्डकी प्रदेशभरको कोरोना परीक्षण हुँदै आएको छ ।

हालसम्म प्रदेशमा ६३ हजार ५९७ जनाको नमूना परीक्षण गरिएकामा ६० हजार ११८ जनाको नतिजा नेगेटिभ आएको छ । त्यसैगरी हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार ४७९ रहेकामा दुई हजार २१९ जना निको भएका छन् । कोरोनाबाट प्रदेशमा अहिलेसम्म ३२ जनाले ज्यान गुमाएका छन् ।

Comments
Loading...