जेठ यता प्राकृतिक विपत्तिमा परेर गण्डकीमा ४२ बालबालिका सहित १२६ को मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा यस वर्ष मनसुन शुरु भएपछि बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेर १२६ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४२ जना बालबालिका रहेका छन् । घटनामा २३ जना बेपत्ता भएका छन् ।

विपत्तिमा ४० महिला, ४४ पुरुष तथा २३ बालिका र १९ बालकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता मध्य नौ जना बालबालिका छन् । घाइते ८९ जनामा २९ महिला, ४३ पुरुष तथा सात बालिका र १० बालक रहेका छन् ।

नेपालमा गत जेठ २७ गतेदेखी मनसुन शुरु भएकामा असोज ९ गतेसम्म प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका घटनामा परी जनधनको क्षति भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार बाग्लुङमा विपत्तिमा परेर सबैभन्दा बढी ३६ जनाको मृत्यु भएको छ । बाग्लुङमा १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालकको मृत्यु भएको छ ।

म्याग्दीमा सात महिला,नौ पुरुष,नौ बालिका र छ बालक गरी ३१ जनाले ज्यान गुमाएका छन् । स्याङ्जामा पाँच महिला,नौ पुरुष र एक बालक गरी १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।

त्यसैगरी तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी १३ जना, कास्कीमा तीन महिला,दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी १० जनाको मृत्यु भएको जनाइएको छ ।

लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको जनाइएको छ । बाढी,पहिरो लगायतका विपत्तिमा परी २३ जना हालसम्म पनि बेपत्ता रहेकामा बाग्लुङमा १६, म्याग्दीमा पाँच, स्याङ्जा र गोरखामा एक÷एक जना छन् । नौ महिला र पाँच पुरुष बेपत्ता छन् ।

प्रदेशका १० वटा जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ विस्थापित भएको र ९७० घर जोखिममा रहेको बताइन्छ । म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन् ।

Comments
Loading...