सर्पले डसेका मादीका १३ वर्षीय पौडेलको उपचारमा रु एक लाख सहयोग

हिमाली आवाज । गत साउन २८ गते घरमै बसिरहेको बेला सर्पको डसाइबाट गम्भिर बिरामी मादी–६ तप्राङका १३ वर्षीय विशाल पौडेलको उपचारका लागि रु एक लाख १४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

बिरामी बालकको उपचारमा आर्थिक समस्या परेको समाचार सार्वजनिक भएपछि पोखरा–१९ पुरुनचौर घर भई हाल अमेरिका बस्ने सन्तोष श्रेष्ठले संकलन गरेको सो रकम आज अभियन्ता श्रीराम गौतमले पौडेलका दाजु विजय पौडेललाई हस्तान्तरण गरेका हुन् ।

अमेरिकामा बस्ने श्रेष्ठको पहलमा त्यहाँका नेपाली तथा अन्य व्यक्तिहरुबाट सहयोग रकम जुटेको र श्रेष्ठ मार्फत आफूले बिरामीका एकाघरका सदस्यलाई सो रकम हस्तान्तरण गरेको अभियन्ता गौतमले हिमाली आवाज डटकमलाई बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४२ दिनको उपचारपछि बिरामी पौडेलको हाल काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण बिरामीको उपचारमा समस्याभएपछि विशाल पौडेल बचाउ अभियान सञ्चालन गरी अभियन्ताहरुले स्वदेश तथा विदेशमा रकम जुटाइरहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा मादी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङ, अभियानका संयोजक रवि क्षेत्री, अभियन्ता दुर्गाप्रसाद गुरुङ, सन्तोष अधिकारी लगायत सहभागी थिए ।

Comments
Loading...