दुर्गा घिमिरेलाई रु एक लाखको समाजसेवा पुरस्कार

हिमाली आवाज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ ।

समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो । महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत ४ दशकदेखि घिमिरेको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । यो पुरस्कार नेपालमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोसी, दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाएका थिए । पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमवहादुर प्रधानवाट संस्थापित तथा समितिवाट संञ्चालित छ । पुरस्कारको अक्षयकोष १५ लाख रुपैयाँको छ ।

समितिका कार्यवाहक अध्यक्ष पवित्रराज रेग्मीको संयोजकत्वमा वरिष्ठ साहित्यकार सरुभक्त, पूर्व प्रशासक बाबुराम आचार्य, संस्थापक प्रतिनिधि रविन्द्र प्रधान तथा समितिका सचिव तीर्थ श्रेष्ठ सदस्य रहेको समितिले महिला शसक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशील घिमिरेलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो ।

Comments
Loading...