कृषक परिचयपत्रका लागि पोखरा महानगरले शुरु ग¥र्यो अनलाइन आवेदन

हिमाली आवाज । पोखरा महानगरपालिकाले कृषकहरुलाई परिचयपत्र वितरणका लागि अनलाईन मार्फत आवेदन दर्ता शुरु गरेको छ । कृषकको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने महानगरको योजना छ ।

महानगरमा रहेका सम्पूर्ण कृषकहरुलाई परिचयपत्र वितरणका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरले तयार पारेको वेवसाईट ‘पोखरा कृषि डटकम’मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् । आज महानगरका प्रमुख मानबहादुर जिसीले वेवसाईट क्लिक गरी आवेदन दर्ताको शुभारम्भ गरे ।

महानगरले कृषकको सम्पूर्ण विवरण सहितको परिचयपत्र वितरणको लागि आवेदन दिन कृषकहरुलाई आग्रह गरेको छ । कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न कृषक वर्गीकरणबाट सहज हुने उनले बताए ।

कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापनगरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको बताउँदै महानगर प्रमुख जिसीले स्मार्ट सिटी बनाउने अभियानका लागि यस कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालयसम्मै धाउनुपर्ने बाध्यता अन्त्यका लागि अनलाईन फारमको व्यवस्था गरिएको बताए ।

फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि कृषकको विस्तृत विवरण पहिचान गर्न सहज हुने उनको भनाई छ ।

Comments
Loading...