पोखरामा डेढ महिनाको शिशुमा कोरोना पुष्टि 

हिमाली आवाज । पोखरामा आज एक डेढ महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत सोमबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि ल्याइएका पोखरा वडा नं ४ का ती शिशुमा निमोनिया देखिएपछि एनआइसीयू कक्षमा भर्ना गरिएको थियो। पछि शंका लागेर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले २० घण्टाको शिशुमा कोरोना देखिएको भनेर विज्ञप्ती जारी गरेपछि पश्चिमाञ्चल अस्पतालले ती शिशु डेढ महिनाको भएको जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले भने यस बारेमा आफूले बुझ्ने बताए । 

अस्पतालका बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले २० घण्टाको शिशु नभई उनी डेढ महिनाको भएको हिमाली आवाज डटकमलाई बताए । उनले भने,“नमूना संकलन गर्ने फर्म भर्दा २० घण्टा भनेर झुकिएका हुन सक्छन् तर शिशु डेढ महिनाका हुन् ,बच्चालाई उपचारमा ल्याएदेखीनै म आफैँले हेरेको छु ।” ती शिशुलाई अहिले एनआइसीयू कक्षमा राखेर उपचार गरिने र अन्य शिशुलाई बालरोग विभागमा पठाइने बास्तोलाले बताए । शिशुको उमेरका सम्वन्धमा पश्चिमाञ्चल अस्पताल र निर्देशनालयबीच फरक फरक भनाई आएको छ ।

शिशुमा कोरोना पोजिटिभ देखिएकोपछि बाबु आमाको आज नमूना संकलन गरिने बताइन्छ । त्यसैगरी पोखरामा शिशु सहित तीन संक्रमित थपिएका छन् ।

Comments
Loading...