सराङकोट सेदीका स्थानीयद्धारा बस्ती र फेवाताल बचाउन सांसद बराल समक्ष माग

हिमाली आवाज । पोखरा सराङकोट (सेदी) का स्थानीयवासीले बस्ती सहित फेवाताल संरक्षण गर्न गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) समक्ष माग गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित कटुइ कटुजे सेदी (कोत्रे) खोला भन्दा माथिल्लो दलदल भागमा धाजा फाँटेर बस्ती बगाउने उच्च जोखिम भएको र जसले गर्दा फेवाताल समेत पुरिने भएकोले यसको संरक्षणमा पहल कदम लिन सांसद बराल समक्ष आफुहरुले माग गरेको स्थानीय भुपाल बहादुर थापा क्षेत्रीले बताए ।

सेदी कोत्रे खोला सहितको सराङकोट क्षेत्रमा धाजा फाँटेको बस्तु स्थिती बारे बुधबार अवलोकन गर्न पुगेका सांसद बराल समक्ष स्थानीयले प्रदेश र संघीय सरकारसम्म आवश्यक पहल गर्न माग गरेका थिए ।

सांसद बरालले उक्त क्षेत्रको बस्ती हाल उच्च जोखिम भएकोले विज्ञको टोलीबाट तत्काल अध्ययन प्रतिवेदन तयार पारी बस्ती संरक्षणम तर्फ केन्द्रित हुनुपर्ने मा जोड दिए ।आफ्नो तर्फबाट उक्त स्थानको बस्ती र फेवाताल संरक्षणमा सवैको सहकार्य गरी पहल गर्ने उनले जनाए ।

उक्त क्षेत्रको बस्ती तथा फेवाताल संरक्षणमा तत्काल करिब २९ लाख दिगो रुपमा व्यबस्थापन गर्न २ करोड भन्दा बढीको बजेट आवश्यक भएको कटुइ कटुजे सेदी (कोत्रे) खोला नियन्त्रण समितिका अध्यक्ष भुपाल बहादुर थापाले बताए ।

उनले भने“यस बर्षको बर्षादले गर्दा सेदी कोत्रे खोला भन्दा माथिल्लो भागको करिब ५० रोपनी दलदल जमिनमा धाजा फाँटेको छ,त्यो कुनै पनि वेलामा तलखस्न सक्छ, जसले गर्दा एक सय ५० घर धुरी यसबाट प्रत्यक्ष पहिराको जोखिममा पर्न सक्छन ।”

बस्ती सहित फेवाताल संरक्षणमा तत्काल काम हुन नसके यसबाट ठुलो जन धनको क्षेति हुने आफुहरुले पूर्व अनुमान गरिएको अध्यक्ष थापाले बताए । मानव बस्ती भन्दा करिब ७ सय मिटर माथिल्लो भागमा जमिन भाषिएसंगै स्थानियहरु हाल त्रसित मुद्रामा रहेको उनले जनाए ।

स्थानीय दीपेन्द्र पहारीले खोला हिड्ने बाटोमा जथभावी ढ्ंगा, माटो राख्नाले पानीको बहावले केही ठाँउमा लगाइएको तारजाली समेत भत्काउने अबस्थामा पुगेको बताए । वडा अध्यक्ष रणबहादुर थापाले सेती बगर क्षेत्रको बस्ती सहित फेवाताल संरक्षणमा ठूलो बजेट आवश्यक भएकोले तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायी दोर्जे लामाले उक्त क्षेत्रमा पहिरो जानसक्ने जोखिम भएकोले सवैसंगको सहकार्यमा आफुहरुले पनि के गर्न सकिन्छ त्यसमा आफुहरु तयार रहेको जनाए ।

Comments
Loading...