सामाजिक सेवा दिवसमा नमस्ते सामुदायिक प्रतिष्ठानको सप्ताहव्यापी कार्यक्रम

हिमाली आवाज । नमस्ते सामुदायिक प्रतिष्ठानले विविध कार्यक्रमहरु गरी ४१ औँ सामाजिक सेवा दिवस मनाएको छ ।

मानव सेवाको मुल मर्मलाई आत्मसात गर्दै विशेषतः अनाथ, असहाय बालबालिका तथा महिलाको क्षेत्रमा विसं २०६० साल जेष्ठ २७ गते स्थापना भएर कार्यरत सो संस्थाले बालबालिका तथा एकल महिलाको क्षेत्रमा आफ्नोे सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आईरहेको छ ।

नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको “सामाजिक क्षेत्रः राष्ट्रिय गौरव, आजको प्राथमिकता, समृद्धि र सुखको लागी सामाजिक रुपान्तरण र उद्यमशिलता” को नारालाई पूरा गर्न आह्वान गरिएको ४१ औँ सामाजिक सेवा दिवसमा एक सातासम्म विभिन्न कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका संस्थापक एवं अध्यक्ष भीष्मराज पौडेलले बताए ।

असोज ६ गते पहिलो दिन संस्थाको बैदाम स्थित गृहमा औपचारिक उद्घाटन समारोह तथा दोस्रो दिन श्रीकृष्ण प्रणामी बृद्धाश्रम लेखनाथमा बसोबास गरिरहेका बुबाआमाहरुका लागी खाद्य सामाग्री तथा जाडोमा ओढ्न मिल्ने ऊनीको पछ्यौरा वितरण गरिएको थियो ।

तेस्रो दिन यसै संस्थाको बालगृह कार्यक्रम अन्तर्गतका बालबालिकाहरुबीच कोभिड सचेतना शीर्षकमा चित्रकला प्रतियोगिता तथा पुरस्कार वितरण, चौथोे दिन पोखरा एयरपोर्ट स्थित ओम शान्ति परिवारलाई खाद्य सामाग्री तथा सरसफाईका सामाग्रीहरु वितरण र पाँचौ दिनका दिन आँखाको दृष्टि कमजोर भएका, पोखरा तथा लेखनाथमा बसोबास गर्ने कूल २५ जना बालबालिका तथा विद्यार्थीहरुका लागी नेपाल नेत्र ज्योती संघ कास्कीको सहकार्यमा पढ्नको लागि सहयोग गर्न एमपिथ्री स्पिकर वितरण गरिएको र सोही दिन साँझ पोखरा घुम्न आउने आगन्तुक पाहुनाहरुका लागी लेकसाईडमा कोभिड सचेतना कार्यक्रम, आवश्यक हुनेहरुका लागी मास्क वितरण गर्ने कार्य गरिएको पौडेलले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमको छैटौँ दिन माछापुच्छ्रे गाउँपालिका वडा नं ३, घाचोक स्थित बाल कल्याण आधारभुत विद्यालयमा कोभिड सचेतना कार्यक्रम, सम्पूर्ण विद्यार्थीहरुलाई मास्क वितरण तथा विद्यालय परिवारलाई १५ लिटर सेनिटाईजर वितरण गरिएको थियो ।

घाचोक, लाहाचोक तथा वरपर बसोबास गर्ने कूद्य ६० जना एकल महिलाहरुका लागी खाद्य सामाग्री र आय आर्जनको लागी फलफुल (एभोकाडो, लिचि र अम्बा) को विरुवाहरु वितरण गरिएको थियो ।सातौ दिन पोखरा महानगरपालिकाको वडा नं ६ बैदाम स्थित कार्यालयको लागि सेनिटाईजर, केही मास्क, मेटल सेनिटाईजर डिस्पेन्सर तथा ज्वरो नाप्ने डिजिटल मेशिन (गन) प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन पोखराको फेवाताल तथा वरपर सरसफाईमा निरन्तर कार्य गर्ने “प्रोजेक्ट नेचर नेपाल” समूह र पोखरा तथा हिमाली क्षेत्रमा सरसफाई र सचेतना सम्बन्धी कार्य गर्ने “हिल हिमालयज” संस्थालाई उनीहरुको कार्यलाई प्रोत्साहन गर्न रु १७ हजार ५०० का दरले प्रदान गरिएको बताइन्छ ।

“हरेक दिन एक उत्सब” मनाउने क्रममा, आवश्यकता अनुसार पूर्व नियोजित कार्यक्रमहरु बाहेक अन्य केही कार्यक्रमहरु थप भएका कारण, यस संस्थाले सात दिनमा कूल १० वटा उत्सव मनाउन सफल भएको प्रतिष्ठानले जनाएको छ ।

Comments
Loading...