सय वर्ष माथिका दुई जनालाई पोखरा महानगर माता पिता उपाधिबाट सम्मान

हिमाली आवाज । पोेखरा महानगरपालिकाले महानगरका सबैभन्दा बढी उमेरका दुई ज्येष्ठ नागरिकलाई आज ‘महानगर माता पिता उपाधि’बाट सम्मान गरेको छ ।

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७७ का अवसरमा आज पोखरा महानगरपालिका–११ निवासी १०४ वर्षीय ज्येष्ठ नागरिक तेजबहादुर गुरुङलाई महानगर पिता तथा पोखरा–२४ का १०७ वर्षीया कलावती गिरीलाई महानगर माताको उपाधिबाट सम्मानित गरिएको हो ।
महानगर प्रमुख मानवहादुर जिसी तथा उपप्रमुख मञ्जुदेवी गुरुङले उनीहरुलाई घरमैै पुगेर सम्मानपत्र,दोसल्ला तथा नगद रु १० हजार १२५ ले सम्मान गरेका थिए ।

‘महामारीले ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारमा परिर्वतन ल्याउँछन् ?’ भन्ने नारा सहित आयोजना गरिएको सम्मान कार्यक्रममा महानगर प्रमुख जिसीले महानगरको वडा नं १ देखी ३३ सम्मका वडाहरुबाट सबैभन्दा ज्येष्ठ एक महिला र एक पुरुष छनोट गरी सो सम्मान प्रदान गरिएको बताए ।

महानगरले गत वर्षदेखी माता पिता सम्मान कार्र्यक्रम शुरु गरेको जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकहरु अनुभवको खानी रहेकाले उनीहरुका ज्ञान,सीप र क्षमतालाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताए ।

ज्येष्ठ नागरिकका हक,अधिकार तथा उनीहरुलाई सुविधा प्रदान गर्न परिचयपत्रका आधारमा यातायात लगायतमा छुट तथा विभिन्न स्थानमा दिवा सेवा केन्द्र स्थापना लगायतका कार्यक्रम शुरु गरिएको महानगर प्रमुख जिसीले बताए ।

Comments
Loading...