चूनावी बाचापूरा गर्दै सांसद पहारी : वडामै पहिलोपटक सडक कालोपत्रे हुँदै

हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले आफ्ना चुनावी प्रतिवद्धता पूरा गर्दै गएका छन् ।

निर्वाचनका बेला पोखरा महानगरपालिकाकाको एक मात्र पिच बाटो नपुगेको भर्जिन वडा पोखरा–२३ मा पिच बाटो बनाउने प्रतिवद्धता जनाएका पहारीले सडक कालोपत्रे कार्यको शिलान्यास गर्दै आफ्नो बाचा पूरा गरेका छन् ।गण्डकी प्रदेश सरकारको बजेट परेपछि पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो ।

लौरुक वामदी चापाकोट ग्रामिण सडक निर्माणका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ छुट्याएपनि ३४ लाख ४७ हजार ६ सय २२ रुपैयाँमा टिबी कन्स्ट्रक्सन एण्ड भिलेजले बाटो निर्माणको ठेक्का पाएको छ । ५ मिटर चौंडाईको सो पिचमा २ सेन्टिमिटर प्रिमिस पिच गरिने ठेकेदार बिनोद भण्डारीले जानकारी दिए । उनका अनुसार बाटोको दक्षिणतर्फको साइडमा नाली बनाइनेछ भने नालीसँग जोडिएको माथिल्लो भागमा रिटेनिङ वाल निर्माण गरिनेछ । ४ महिना भित्रमा बाटो निर्माण गरिसक्ने गरि ठेक्का लिएपनि २ महिना भित्रै सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको ठेकेदार भण्डारीले बताए ।

बाटो शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा–२३ मा पिच बाटो निर्माणको शुरुवात मात्र भएको बताए । यो फिल्मको कास्टिङ मात्रै हो,‘उनले भने,‘भर्जिन वडामा पिच बाटो बन्न शुरु भो, अब यो निरन्तर चल्छ ।’ उनले अहिले निर्माण शुरु गरिएको पिच बाटोले पोखरा–२२ पुम्दीभुम्दीस्थित पलाईँचेसम्म पु¥याउने र त्यसका लागि बजेट उपलब्ध गराइ छाड्ने बाचा गरे ।

सांसद पहारीले फेवातालमा लेदोसहितको ढुंगा माटो बगेर आउन नदिनपनि फेवातालको सिरान क्षेत्रका रुपमा रहेका पोखरा–२३ र २४ वडाका कच्ची बाटोलाई पिच बनाउनुपर्ने आवश्यक्ता रहेकोमा जोड दिए । उनले फेवातालको तटीय तथा सिरान क्षेत्रको विकास नभई फेवाताल संरक्षण नहुने भन्दै त्यसले लेकसाईडलाई घाटा भन्दा बढी फाईदा हुने बताए ।

Comments
Loading...