हाइकर्स क्लब नेपालको समूह पर्यटकीय गन्तव्य हुडिकोटमा

हिमाली आवाज । ʿस्वास्थ्य र पर्यटनका लागि हाइकिङʾ भन्ने नाराका साथ पोखरा र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालको समूह शनिबार पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको हुडिकोट पुगेको छ ।

माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने हुडिकोटमा बढ्दो पर्यटकीय आकर्षणलाई थप उजागर गर्न हुडिकोटसम्मको हाइकिङ तय गरिएको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

हाइकिङकै क्रममा पोखरा महानगरपालिका वडा नं २१ स्थित फोक्सिङकोट र पोखरा ३३ स्थित जिब्रेढुङ्गा सामूदायिक होमस्टेको पनि अवलोकन गरिएको उनले बताए । हाइकर्सहरूको समूहलाई स्वागत गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले हुडिकोट लगायतका स्थलले धेरै पर्यटकीय सम्भावना बोकेको बताउँदै यिनीहरूको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखिएको बताए । समाजसेवीहरू अशोक रायमाझी, भरत रायमाझी लगायतले फोक्सिङकोट सहितका भूभागबाट देखिने पोखरा सहितको हिमाली दृश्यले जो कोहीलाई लोभ्याउने गरेको बताए ।

समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा अवस्थित हुडिकोट नेपालका वाइसे चौवीसे राजाकै पालादेखि अस्तित्वमा आएको ऐतिहासिक स्थल रहेको यहाँका स्थानीयवासी बताउँछन् । माछापुच्छ«े, अन्नपूर्ण हिमालदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्यका साथै कास्की, तनहँु, लमजुङ, पर्वत स्याङ्जा लगायतका १४ वटा जिल्लालाई एक साथ अवलोकन गर्न सकिने यो स्थानको पर्यटकीय उजागर गर्ने लक्ष्यका २०६९ सालमा स्थानीय सकृयतामा प्रथम भरतपोखरी हुडिकोट महोत्सव समेत गरिएको थियो । हुडिकोट पुग्ने पर्यटकलाई लक्षित गरी हुडिकोट भ्यू प्वाइन्ट सेन्टर जस्ता होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।

हिमाली दृश्य सहितको पोखरा अवलोकन गर्न हुडिकोट पुग्नै पर्ने गन्तव्यका रुपमा आँफूले पाएको पोखरा महानगरपालिका वडा नं २२ का प्यामलाल बरालले बताए । “सञ्चारमाध्यममा सुनेकै आधारमा हुडिकोट आएको हुँ,” शनिबार हुडिकोटमा भेटिएका बरालले भने “यस्ता रमणीयस्थलको प्रवद्र्धन र विकासमा राज्यस्तरबाटै चासो दिनु आवश्यक छ ।” हुडिकोटसम्म पुग्ने हाइकिङका विभिन्न मार्ग छन् ।

पृथ्वीराजमार्गअन्तर्गत पावरहाउस चोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्म हाइकिङ गर्न नौ किलोमिटर पार गर्नुपर्छ । त्यस्तै अर्को मार्गमा पृथ्वीराजमार्ग अन्तर्गतकै आदर्शचोक भण्डारढिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोटसम्म पुग्न सकिन्छ ।

अर्कोतर्फ दक्षिणतर्फ सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौंडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म पनि हाइकिङ गर्न सकिन्छ । हाइकिङ मार्गमा पर्ने हुडिकोट देउरालीका साथै मल्लकालिन कोटभैरव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीयवासीले पहल गरेका छन् ।

Comments
Loading...