रुपा गाउँपालिकाको अब आफ्नै एम्बुलेन्स मार्फत सेवा दिने

हिमाली आवाज । कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलव्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन भएको हो ।

सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता हटेपछि रुपावासीले सहज रुपमा अस्पताल जान पाउने भएका छन् ।

प्रतिनिधिसभा सांसद खगराज अधिकारीको पहलमा प्राप्त सो एम्बुलेन्स सहितको साँचो आइतबार सांसद अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलिएत दरमा सञ्चालन गर्ने बताए ।कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क गरेको थियो ।

अध्यक्ष ओझाले भने,“लकडाउनका बेला रेडक्रसको एम्बुलेन्स भाडामा लिएर हामीले जनतालाई निःशुल्क सेवा दिएका थियौँ, अब आफ्नै एम्बुलेन्स भएपछि जिल्ला दररेटमा ५० प्रतिशत सहुलियतमा सेवा दिन्छौँ । कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीामा घण्टौ समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।”

गाउँपालिकाले एक जना विशेषज्ञ डाक्टर सहित पाँच शय्याको अस्पताल सञ्चानमा ल्याएको छ । चालू आर्थिक वर्षमा सो अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।रुपाका सात वटै वडामा प्रयोगशाला सहितको स्वास्थ्यचौकीबाट जनतालाई सेवा प्रवाह गरिने लक्ष्य राखिएको छ ।

हाल वडा नं २ र ३ मा स्वास्थ्यचौकी नभएकाले भवन निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ । प्रतिनिधिसभा सांसद अधिकारीले गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि सङ्घ सरकारले सहयोग गर्ने बताए ।

Comments
Loading...