हाडनाता करणीको अभियोगमा युवक पक्राउ, बच्चा जन्मेपछि मात्र कास्की प्रहरीमा जाहेरी

हिमाली आवाज । कास्की प्रहरीले हाडनाता करणी गरेको अभियोगमा सर्लाही घर भएका २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।

विसं २०७६ पुस २ गते राति पोखरामा आफ्नै भतिजी नाता पर्ने १४ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई करणी गरेको र बालिकाले गत भदौ २९ गते छोरा जन्म दिएपछि परिवारले दिएको जाहेरीका आधारमा पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा युवकलाई आइतबार पक्राउ गरी पोखरा ल्याएर उनी विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

“प्रहरीलाई बच्चा जन्मेपछि मात्र जाहेरी आयो, त्यसपछि पीडक सर्लाहीमा छन् भन्ने भएपछि त्यहाँको प्रहरीसँगको समन्वयमा पक्राउ गरी ल्याएका हौँ, थप अनुसन्धान भइरहेको छ ।”प्रनाउ हमालले भने ।
लागूऔषध गाँजा सहित पाँच पक्राउ
लागूऔषध ओसारपसार र बिक्री बितरण हुदैछ भन्ने गोेप्य सूचनाका आधारमा प्रहरीले लागूऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका–१६ तुम्के स्थित बाटोमा हिडिरहेको अवस्थामा पोखरा–१६ का २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, २४ वर्षीय मोहित खवास, पोखरा–१९ का १८ वर्षीय मनोज विक र धादिङ घर भई हाल पोखरा–१६ बस्ने ३० वर्षीय कुमार ठकुरीलाई लागू औषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।

उनीहरुको साथबाट डाईजापाम सात एम्पुल, फेनेरागन सात एम्पुल, बुर्फिनर्फिन सात एम्पुल गरी जम्मा २१ एम्पुल र लागू औषध गाँजा एक केजी २२३ ग्राम फेला पारिएको बताइन्छ ।

पक्राउ परेका पाँचै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ बिपरितको कसूर अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कृष्ण दवाडी,पोखरा

Comments
Loading...