पत्रकार बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता’ पुरस्कार

हिमाली आवाज । पोखराका क्रियाशिल पत्रकार हरि बास्तोलालाई ‘ऋषि लिला पत्रकारिता पुरस्कार २०७७’ बाट पुुरस्कृत गरिने भएको छ ।

पोखरा बृद्धाश्रमद्धारा सञ्चालित सो पुरस्कार राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालयमा कार्यरत बास्तोलालाई पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिक तथा सडक मानवहरुको बारेमा निरन्तर आवाज उठाउँँदै आएकाले प्रदान गरिने बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

पुरस्कारको राशी रु २० हजार रहेको छ । विसं २०४५ मा राससबाट बास्तोलाले पत्रकारिता शुरु गरेका हुन् । अध्यक्ष पराजुलीले आफ्ना माता पिताको स्मरणमा सो पुरस्कार स्थापना गरेका हुन् । सो पुरस्कारबाट यसअघि पत्रकार चट्याङ, मास्टर र दीपेन्द्र श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल संयोजक तथा पत्रकारहरु माधव पनेरु र दुर्गा अधिकारी सदस्य रहेको प्रतिभा सिफारिस समितिले बास्तोलालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेपछि बृद्धाश्रमले बास्तोलाई सो पुरस्कार दिने निर्णय गरेको थियो ।

बास्तोला यसअघि गजेन्द्र स्मृति र्सिजनशिल पत्रकारिता पुरस्कार,आदित्यध्वज पत्रकारिता पुरस्कार, प्रेस चौतारी कास्की पत्रकारिता पुरस्कार, नेपाल पर्वतारोहण सङ्घबाट सञ्चालित पत्रकारिता सम्मान लगायतका पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

बास्तोला साविक प्रेस चौतारी कास्कीको अध्यक्ष, गण्डकी प्रदेश इन्चार्ज तथा हाल प्रेस संगठन गण्डकी प्रदेश समितिमा आवद्ध छन् । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत क्रियाशिल रहेका छन् ।

Comments
Loading...