डा केसीको सत्याग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै कास्कीका विपक्षीदलबाट आत्मरक्षाको माग

हिमाली आवाज । कास्कीका क्रियाशिल विपक्षी राजनीतिकदलहरुले डा गोविन्द केसीले पटक पटक सञ्चालन गरेका सत्याग्रहमा भए गरेका सहमति कार्यान्वयन तथा १९ औँ सत्याग्रहको २३ औँ दिनसम्म पनि सरकारले बेवास्ता गरेको भन्दै खेद व्यक्त गरेका छन् ।

आज संयुक्त विज्ञप्ती जारी गरी दलहरुले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, भ्रष्टाचार तथा बेथितिप्रति डा केसीको सत्याग्रहलाई एक्यबद्धता जनाउँदै जिल्लामा विभिन्न सामाजिक संघ संस्थाहरुले गरेको अभियानहरुलाई सार्थक र निर्णायक बनाउन जनदवाव सिर्जना गर्ने तथा केसीको आत्मरक्षाको माग गरिएको छ ।

विज्ञप्तीमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रतिपक्षी जनता समाजवादीका कास्की अध्यक्ष गिरीप्रसाद गुरुङ,राप्रपाका जिल्ला अध्यक्ष गणेशबहादुर ढकाल,नेकपा क्रान्तिकारी जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी,श्रमजीवी पार्टीका अध्यक्ष हिमलाल पराजुली,जागौँ पोखराका संयोजक शिरिस गुरुङ तथा सार्वजनिक बौद्धिक मञ्चका संयोजक दामोदर त्रिपाठीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तीमा प्रज्ञा प्रतिष्ठान जस्तो संस्था गठन प्रक्रियामा कास्कीमा क्रियाशिल दलहरुको सहभागिता बिना पोखरा महानगरपालिकाले एकलौटी गठन गरी प्राज्ञहरुलाई नियोजित रुपमा विवादमा ल्याउन खोजेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभिलम्व गठित प्रतिष्ठान खारेजीको माग सहित सर्वपक्षिय भेलाबाट गठन गर्न माग गरिएको छ । त्सैगरी आउँदै गरेका चाडपर्वहरुको चुस्त, दुरुस्त व्यवस्थापन र शान्ति सुरक्षा प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
दलहरुले आफूहरुको माग एक हप्ताभित्र सुनुवाई नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

Comments
Loading...