कास्की प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना, ठाउँ ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन हुने

हिमाली आवाज । जिल्ला प्रहरी कार्यालयले आउँदै गरेको विजयादशमी लगायतका ठूला चाडपर्वलाई लक्ष्य गरी जिल्लामा सम्भावित आपराधिक गतिविधिहरु नियन्त्रणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

गण्डकी प्रदेशको राजधानी शहर समेत रहेको पोखरामा सम्भावित चोरी, डकैती,लुटपाट तथा अन्य जघन्य प्रकृतिका घटनाहरु हुन नपाउने व्यवस्था मिलाउने तथा यात्रुहरुलाई लड्ठाई हुन सक्ने लुटपाट, ठगीलाई नियन्त्रण गर्ने उद्धेश्य सहित सो योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वका बेला शहर तथा गाउँमा समेत भीडभाड बढ्ने तथा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा दिन बाध्य बनाउने तथा जनस्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरहीन,अखाद्य तथा मिसावटयुक्त खाद्यवस्तुहरुको विक्री वितरणलाई नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

उनका अनुसार विशेष टोली परिचालन गरिने र धार्मिकस्थलहरुमा वर्तमान कोरोना सङ्क्रमणलाई मध्यनजर गरी अनावश्यक जमघटलाई निरुत्साहित गरिने छ ।
चाडपर्वका समयमा सवारी आवागमनमा वृद्धि,ट्राफिक व्यवस्थापन, बढी भाडा असुली तथा क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि पोखराको पृथ्वीचोक र बाग्लुङबसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ ।

दशैँका समयमा खसी, बोका च्याङग्रा ओसार पसारमा व्यक्ति समूहद्धारा अवरोध हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि च्याङग्रा ओसार पसार हुने नाका तथा रुटहरुमा चेकप्वाइन्ट राख्ने र विशेष निगरानी गर्ने योजना बनाइएको छ ।

बैँङ्क वित्तिय संस्थाहरुमा आपराधिक समूहबाट हुन सक्ने चोरी नियन्त्रण तथा अन्य चोरी लुटपाटका घटनाहरु रोक्न २४ सै घण्टा मोटरसाइकलबाट गस्ती र पेट्रोलिङ,शंकास्पद व्यक्तिहरुको निगरानी,बढी भीडभाड हुने स्थानहरु तथा बैँङ्क तथा वित्तिय संस्था वरपर सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने योजना तयार गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

चाडपर्वको समयमा खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी रोक्न जनगुनासो सङ्कलन गर्ने,सरोकारभएकाहरुसँग समन्वय गरी अनुगमन बढाउने, जुवातास र अवैध मदिरा प्रयोगलाई कम गर्न सादा पोशाकमा प्रहरी कर्मचारी खटाउने, आर्थिक सहयोगको नाममा जर्वजस्ती चन्दा सङ्कलन रोक्ने, चाडपर्व लक्षित मेला पर्वहरुलाई निरुत्साहित गर्ने प्रहरीले जनाएको छ ।

घर तथा डेरा कोठामा कोही नभएको मौका छोपी चोरी रोक्न २४ सै घण्टा प्रहरी गस्ती, रातको समयमा शङ्कास्पद हिँड्नेलाई नियन्त्रण,चोरीमा सङ्लग्न भई कारागारबाट छुटेकाहरुलाई निगरानी गरी शङ्कास्पदलाई कानूनी दायरामा ल्याउने सुरक्षा योजना छ ।

त्यसैगरी विशिष्ट व्यक्तिको निवास र कार्यालयस्थल तथा मुख्य बजार वरपर सुरक्षा व्यवस्था मिलाउने, राजमार्गहरुमा ट्राफिक प्रहरी सहितको क्रस पेट्रोलिङ र पटका भुईचम्पा, आतिसबाजीको ओसार पसार नियन्त्रणका लागि नाकाहरुमा चेकजाँच बढाउने सुरक्षा योजना प्रहरीले बनाएको छ ।
चाडपर्वलाई लक्षित गरी तयार गरिएको सो सुरक्षा योजना कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयमा सात प्रहरी कर्मचारी रहेको कमाण्ड पोष्ट रहने छ ।

नौ वटा सिआरभी कार्यालयबाट १११ जना, विभिन्न १९ वटा भित्री गल्ली तथा राजमार्गमा एम्बुस चेकिङमा ८६,बजार अनुगमनमा १२,भिगरस चेकिङका लागि ५५,राजमार्ग चेकिङमा २१, क्वीक रेस्पोन्स टीम(क्यूआरटी)मा ४९,विभिन्न धार्मिक तथा पर्यटकीयस्थल सुरक्षाका लागि २८,सादा पोशाकमा सूचना सङ्कलन, चोरी तथा अपराध नियन्त्रणमा ४० गरी ६९१ प्रहरी परिचालन गरिने प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । त्यसैगरी यात्रु सहायता कक्षमा १२ र चालक÷यात्रुसँग एक मिनेट कार्यक्रममा १७ सुरक्षाकर्मी खटाइने जिप्रकाले जनाएको छ ।

Comments
Loading...