सार्वजनिक सवारीका यात्रुलाई कोरोना सचेतना

हिमाली आवाज । सवारीचालकलाई ट्राफिक सचेतना र कोरोनाको महामारी रोकथाम गर्ने उद्देश्यले प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सचेतना अभियान सञ्चालन गरेको छ ।

दुवै प्रहरी ईकाइले कास्कीका विभिन्न राजमार्गहरुमा पुगी सार्वजनिक सवारीका चालक र सवारीमा सवार यात्रुहरुलाई कोरोनाको रोकथाम र यसबाट बच्ने उपायहरु अवलम्बन गर्न समेत सचेत गराइएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
सार्वजनिक सवारी सञ्चालन भएसंगै कोरोनाको महामारी समेत फैलन सक्ने भएकाले यात्रुहरुले पूर्ण रुपमा सुरक्षित तवरले यात्रा गर्नुपर्नेमा अझैपनि यात्रुहरु त्यसबारेमा सचेत नभएको र सवारी चालकहरुले समेत सुरक्षाको उपायहरु नअपनाएको पाइएकाले केही सार्वजनिक सवारीहरुलाई चेक जांच गरि उनीहरुलाई कोरोनाको रोकथामको उपायको बारेमा सचेत गराइएको समेत कार्कीले वताए ।

त्यसैगरी ट्राफिक प्रहरीले चाडवाड नजिकिए संगै सार्वजनिक सवारीहरुले तोकिएको भन्दा वढी भाडा लिने गरेको गुनासो आउन थालेकाले पनि आफुहरुले राजमार्गहरुमा सञ्चालित सार्वजनिक सवारीका यात्रु र चालकलाई यसबारेमा सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सन्तोष रोकाले वताए । सार्वजनिक सवारी साधनमा चाडबाडको वेलामा भिडभाड हुने र सवारी चालक र सहचालकले तोकिएको भन्दा वढी भाडा उठाउने गरेको र त्यसो गरेको खण्डमा नजिकको प्रहरी कार्यालय वा ट्राफिकको १०३ नम्बरमा फोन गरी जानकारी दिन समेत यात्रुहरुलाई रोकाले आग्रह गरे ।

त्यसैगरी ट्राफिक प्रहरीले सवारी चालकलाई नमस्ते गर्ने अभियानलाई समेत निरन्तरता दिइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव निरीक्षक पूर्ण बहादुर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार नमस्ते अभियान संगै ट्राफिक प्रहरीले यतिवेला कोरोना महामारी नियन्त्रणका उपायहरुको बारेमा जानकारी दिने र चाडबाडमा सार्वजनिक सवारी साधनहरुमा भीडभाड नगरिकन कोरोनाको महामारीलाई न्युनिकरणका लागि सरकारले अवलम्बन गरेको सजकताको उपायहरु अपनाउन समेत ट्राफिक प्रहरीहरुले अनुरोध गर्दै आइरहेको छ ।

आज मात्र पोखराबाट बाहिरीने सिद्धार्थ राजमार्ग, पोखराको बाग्लुङ बसपार्क, पोखराका विभिन्न स्थानहरु र स्याङजा लाइन गरी दुई दर्जन बढी सार्वजनिक सवारीहरुलाई कोरोनाको सचेतना र तोकिएको भन्दा बढी भाडा नदिन आग्रह गर्दै सचेतना कार्यक्रम गरिएको समेत प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

Comments
Loading...