सार्वजनिक सम्पत्ति व्यवस्थापनको जिम्मा प्रदेश र स्थानीय सरकारलाई दिन सांसद पहारीको माग

हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले संघीयता कार्यान्वयन शुरु भईसक्दा समेत सार्वजनिक सम्पत्तिको व्यवस्थापन र संरक्षणको जिम्मेवारी तल हस्तान्तरण नहुँदा कतिपय विकास निर्माणका काममा ढिलासुस्ती भएको बताएका छन् ।

उनले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनको जिम्मेवारी अविलम्व वडा, महानगर र प्रदेश सरकारलार्ई हस्तान्तरण गर्न माग गरे ।
शुक्रबार पोखरा महानगरपालिका–६ बैदामस्थित दृष्टिमार्ग शाखा ढलान बाटो(सोनाम मार्ग)को उद्घाटन गर्दै सांसद पहारीले लेकसाइडस्थित बाराही मन्दिर अगाडीको चौर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रत्न मन्दिर तथा हिमागृह लगायतका सार्वजनिक सम्पत्तिको व्यवस्थापन प्रदेश र स्थानीय सरकारले गर्न पाउनुपर्ने बताए ।

सांसद पहारीले भने,“सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश र संघले नपाउँदा विकासमा अवरोध आएको छ । व्यवस्था परिर्वतन भएपनि सोँच परिर्वतन हुन अझै सकेन।”

पहारीले विश्वले चिनेको लेकसाइडमा अझै चार÷पाँच वटा बाटो कालोपत्रे नभएकाले पोखरालाई स्मार्ट सिटी बनाउने अभियान लेकसाइडबाट शुरु गर्नुपर्ने बताउँदै उनले साढे दुई वर्षको बाँकी अवधिमा बैदाम क्षेत्रमा सबै बाटो कालोपत्रे गरिने तथा खानेपानीको प्रवन्ध गरिने उल्लेख गरे ।

पोखरा वडा नं ६ का कार्यवाहक वडाध्यक्ष हरि पहारीले स्थानीयवासीले लागत साझेदारीमा सडक ढलान गरेकामा खुःशी व्यक्त गर्दै सबैले यसमा लगानी गर्नुपर्ने र नगर्नेहरुलाई राज्यको सेवा सुविधाबाट बञ्चित गरिने बताए ।

रु १२ लाख लागतमा ९० मिटर बाटो ढलान गरिएको हो । बजेटमा अभावमा सोलिङ गरेर छाडिएको सो सडक प्रदेश सांसद पहारीले केही स्रोतको सुनिश्चिता गरेपछि काम अघि बढेको उपभोक्ता समितिका सल्लाहकार हरिबहादुर क्षेत्रीले बताए ।

स्थानीयवासी कृष्ण आचार्यले लेकसाइडका भित्रि गल्लीहरुमा अझै पनि आधारभूत विकासको पहुँच पुग्न नसकेको उल्लेख गरे । सरिता गरीको अध्यक्षमा गठन गरिएको सो सडक निर्माण उपभोक्ता समितिमा सबै जना महिलामात्र आवद्ध रहेका थिए ।

Comments
Loading...