हिमाली आवाज । गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले आफ्नो साढे दुई वर्षको अवधिमा आफ्नोे निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन् ।
आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी उनले कास्की निर्वाचन क्षेत्र नं २(१) मा निर्वाचनका बेलामा जनतामाझ गरेको प्रतिवद्धता अनुसार काम गरिरहेको जानकारी दिँदै बाँकी रहेका प्रतिवद्धता समेत पूरा गरेरै छाड्ने बताए ।
पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माणदेखि पुल, खानेपानी, सिँचाईलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख उनले उल्लेख गरे । सांसद थापाले नदी तथा ताल संरक्षणमा समेत आफूले बजेट विनियोजनमा भूमिका खेलेको बताए ।
उनले सडक, खानेपानी,सिँचाई, विद्यालय, प्राथमिक स्वास्थ्य केन्द्र आदि क्षेत्रमा साढे दुई वर्षको अवधिमा उल्लेखनीय लगानी भएको समेत दावी गरेका छन् ।
चूनावी घोषणापत्र अनुसार उद्योग व्यवसाय र पर्यटन,शिक्षा, यातायात र सडक निर्माण, स्वास्थ्य सेवा, खानेपानी, कृषि, पशुपालन,विद्युतिकरण, ताल तथा नदी संरक्षणमा काम गरिरहेको उनले उल्लेख गरे ।

“शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष जोड दिएर काम गरेको छु । यसका अलावा उद्योग, व्यवसाय र पर्यटनलाई पनि छुटाएको छैन । कास्की २(१)लाई नमूना निर्वाचन क्षेत्रको रुपमा निर्माण गर्न निरन्तर अग्रसर छु ।’ उनले भने ।
सांसद थापाले कतिपय कामहरु सम्पन्न भइसकेको त कतिपय निर्माणाधीन अवस्थामा रहेको बताए । जस अन्तर्गत कृष्ती बक्रेक पौवेगौडे मोटरबाटो( १२.३ किमी)को बाटो निर्माण भइरहेको र त्यसका लागि ३२ करोड ९० लाख बजेट विनियोजन गर्न सफल भएको बताए । त्यस्तै, आफ्नै पहलमा पोखरा–१७ स्थित ड्यामसाईडमा ४ करोड ८० लाखमा झण्डा पार्क निर्माणको काम भइरहेको र विरौटा–पुँडीटार सडक, रत्नचोकदेखी ड्यामसाईडसम्मको सडकमा फुटपाथ निर्माणको काम भइरहेको थापाले उल्लेख गरे ।
सांसद थापाले एक वडा एक बैंकको अवधार अनुसार आफू अघि बढिरहेको बताउँदै अब आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वडा नम्बर २१ मा मात्र बैंकको शाखा स्थापना गर्न बाँकी रहेको बताए । उनले निर्वाचनताका आफूले गरेका प्रतिबद्धता अनुरुपका बाँकी काम बाँकी साढे २ वर्षमै पूरा गर्ने दाबी गरे ।
सांसद थापाले पोखरा महानगरपालिका ७ र १५ जोड्ने, वडा १५ र ३३ जोड्ने सेती नदीमा पुल निर्माण गर्ने योजना अनुरुप काम अघि बढिरहेको बताए । त्यस्तै, स्वस्थ नागरिक उत्पादनमा जोड दिनका लागि मनोरञ्जन पार्कदेखि जिम पार्क, बाल उद्यान, विश्राम स्थललगायत निर्माणलाई जोड दिइने सांसद थापाले बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ, पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगर प्रमुख मानबहादुर जिसी, प्रतिनिधिसभा सांसद विद्या भट्टराई अधिकारी, नेकपा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल,नेकपाका जिल्ला कमिटी सदस्य झपट रानाभाट लगायतले पार्टी र जनप्रतिनिधिका बीचमा समन्वय गरी विकास निर्माण र चुनावमा पार्टीका तर्फबाट प्रस्तुत घोषणापत्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।