शहीद गौचनको तेस्रो स्मृति दिवसका अवसरमा पोखरामा श्रद्धाञ्जली सभा

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आज संघका संस्थापक अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको तेस्रो स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

संघको कार्यालय राष्ट्रबैँकचोकस्थित सभाहलमा भएको कार्यक्रममा शहीद गौचनलाई स्मरण गर्दै उनको योगदानका बारेमा चर्चा गरिएको थियो ।
गौचनको विसं २०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा निवास नजिकै आपराधिक समूहबाट गोली हानी हत्या भएको थियो । सरकारले गौचनलाई निर्माण क्षेत्रका शहीदका रुपमा घोषणा गरेको थियो ।

श्रद्धाञ्जली सभामा महासंघका मानार्थ सदस्य शिवशंकर गौचनले शहीद गौचनले कास्की संघको स्थापना, भवन निर्माण लगायतका क्षेत्रमा अतुलनीय योगदान गरेको बताउँदै उनमा सबै व्यवसायीलाई एकतावद्ध बनाएर लैजान सक्ने क्षमता रहेको उल्लेख गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहारीले गौचनको अकल्पनीय घटनाबाट निर्माण क्षेत्रले अभिभावक गुमाएको उल्लेख गरे ।

नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष ओमप्रसाद गौचनले नेपालको निर्माण क्षेत्रको विकासमा गौचनको ठूलो योगदान रहेको बताए ।

संघका अध्यक्ष सुरेश श्रेष्ठले कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पालना गर्दै गौचनको स्मृति दिवसमा श्रद्धाञ्जलीसभालाई निरन्तरता दिइएको बताए ।

संघका सचिव सुवर्ण श्रेष्ठले निर्माण व्यवसायीलाई राज्यले सुरक्षित वातावरणमा काम गर्र्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।

Comments
Loading...